• ८ जेठ २०८१, मङ्गलबार

मलाई मन परेका पाँच चलचित्र

blog

प्रमोद खरेल, गायक

गायक प्रमोद खरेल नेपाली सुगम सङ्गीत र पार्श्र्व गायनमा चिनाइरहनुपर्ने नाम होइन । उनले नेपाली साङ्गीतिक क्षेत्रमा झन्डै दुई हजार गीत रेकर्ड गराएका छन् । ‘म बिना कसै कसैलाई’, ‘डुबायो पापी मायाले’, ‘झुम्कावाली’, ‘किन लाग्छ माया’, ‘यो कुरा गोप्य’, ‘म बाँचेकै’, ‘नोगेन’ र ‘सिमलको भुवा झैं’लगायतका गीत लोकप्रिय छन् । प्रमोद ‘द भ्वाइस अफ नेपाल’को तीनै संस्करणका निर्णायकमध्ये एक हुन् । यिनै प्रमोदलाई मन परेका यी पाँच चलचित्र :

लाहुरे 

मैले बाल्यकालमा हेरेकामध्ये अहिलेसम्म मनमा कथा बसेको चलचित्र यही हो । यो चलचित्रको कथा मन छुने किसिमको छ । यसमा अभिनय गर्ने कलाकारहरूको अभिनय बेजोड लाग्छ । सङ्गीत पक्ष उत्तिकै सशक्त छ । निर्देशक पक्ष उत्तिकै दमदार छ ।

चिनो

यो चलचित्रमा मलाई मन पर्ने भनेको सङ्गीत पक्ष हो । कलाकारको कुरा गर्दा अभिनेता सुनील थापा दाइको अभिनय कला अत्यन्त राम्रो छ । चलचित्रका प्रमुख दुई अभिनेता शिव श्रेष्ठ र भुवन केसीको ‘केमेस्ट्री’ उत्तिकै मिलेको छ ।

देउता 

अभिनेता राजेश हमालले अभिनय गरेका अहिलेसम्म जति चलचित्र मैले हेरेको छु । चलचित्र ‘देउता’ जत्तिकै उत्कृष्ट कुनै लाग्दैन । अन्य कलाकारको काम पनि उत्तिकै राम्रो छ । यसको गीतसङ्गीत पक्षको त कुरै नगरौँ । त्यो समयमा यो एउटा मन छुने चलचित्र थियो ।

पशुपतिप्रसाद 

यो चलचित्र जतिपटक हेरे पनि पुरानो लाग्दैन । चलचित्रको कथा एकदमै ‘अग्र्यानिक’ छ । प्रमुख कलाकार खगेन्द्र लामिछानेसहित अन्य कलाकारको अभिनय बेजोड छ । विपिन कार्कीको अभिनयको त फ्यान नै भएँ । यसको कथावाचन शैली गज्जब नै छ ।


टलकजङ्ग भर्सेस टुल्के

हामीले देशमा भएका द्वन्द्वलाई नजिकबाट देखेका र भोगेका छौँ । त्यही कथा यो चलचित्रमा पनि देख्न पाएका छौँ । कथा एकदमै सशक्त छ । निर्देशन पक्षदेखि यसको पटकथा अन्त्य र कलाकारको अभिनय उत्कृष्ट लाग्छ । 


प्रस्तुति : युवराज गौतम