• ४ जेठ २०८१, शुक्रबार

यौनशक्तिवर्धक वनस्पति

blog

डा. सुबोधकुमार पोखरेल 

प्राचीन ग्रिसेली सभ्यतामा प्रेमकी देवी ‘अफरोडिट’ को चर्चा हुन्थ्यो । जसले समुद्रबाट निस्किएर ‘इरोस’ नामक देवलाई जन्म दिइन् । इरोसलाई राम्रो यौन सम्बन्धको प्रतीकका रूपमा बुझ्ने गरिन्थ्यो । यसै प्रतिकात्मक पौराणिक श्रुतिबाट ‘अफरोडिसिक’ अर्थात् यौनशक्तिवद्र्धक र बलवद्र्धक खानेकुराहरू भन्ने शब्द जन्मिएको मानिन्छ । 

पूर्वेली सभ्यतामा रसायन तथा वाजीकरण भनेर आयुर्वेदमा एउटा छुट्टै अध्ययन क्षेत्र वा विशेषज्ञ विभाग उल्लेख गरिएको छ । यसको तात्पर्य सम्पूर्ण शरीरको सुस्वास्थ्यको ऐनाका रूपमा यौन क्षमतालाई मानेर त्यसको विकास र समृद्धिका लागि आवश्यक सेव्य औषधि र उपायका बारेमा अध्ययन गर्ने हो । 

यथार्थमा यौनशक्तिवर्द्धक भनेर मानिएका प्राकृतिक स्रोतबाट प्राप्त हुने खाद्य पदार्थले तत्कालै यौन उत्तेजना बढाउने मात्र नभई दीर्घकालसम्म यौन आनन्दभोग र सन्तान प्राप्तिको क्षमतालाई नियमबद्ध रूपमा विकसित गरेर कायम राख्छन् ।

हामीले दैनिक रूपमा खाने गरेका वा हाम्रै वरिपरिका वातावरणमा उब्जने, फल्ने वा फुल्ने प्राकृतिक जैविक तìवहरूमा त्यो क्षमता रहेको हुन्छ भन्ने कुरा पूर्वमा वेद, उपनिषद्, पुराण तथा पश्चिममा धर्मग्रन्थहरू र आधुनिक विज्ञानको पनि चासोको विषय रहिआएको छ । अथर्ववेदमा त विविध वनस्पतिको उल्लेख पाइन्छ । यस्ता खाद्य तìवलाई मोटामोटी रूपमा दुई भागमा बाँड्न सकिन्छ ः

१. पुरुषका लागि उपयोगी । 

२. स्त्रीका लागि उपयोगी ।


पुरुषका लागि उपयोगी

१. अदुवा : पुरुषमा यौन शक्तिवर्धनका लागि अदुवाको प्रयोग उपयोगी मानिएको छ । यसले पुरुषको लिङ्गलगायत सम्पूर्ण यौन क्षमताको विकास गर्ने विश्वास गरिन्छ ।


२. बेलको पात : बेल यस्तो रुख हो जसका पातलाई हिन्दु संस्कृतिमा शिवको पूजाआराधना गर्दा चढाउन आवश्यक मानिन्छ । यस कुराको साङ्केतिक अर्थ पनि छ । कारण के हो भने बेलका पातको नियमित सेवन गर्नाले मानसिक शक्ति विकास हुने र एकाग्रता बढाएर त्यसका माध्यमबाट लिङ्ग उत्तेजना गर्ने र त्यसलाई आवश्यक समयसम्म कायम राख्न सकिने विश्वास गरिन्छ ।

३. मह : महमा फ्रक्टोज नाम गरेको कार्बाेहाइड्रेट हुन्छ । जो माहुरीद्वारा मह बनाउन प्रयोग गरिने फूल र वनस्पतिबाट आउने गर्छ । यसलाई नियमित रूपमा रातिको भोजनपछि सेवन गर्नाले शक्ति प्राप्त हुने र त्यस शक्तिले खासगरी यौन उत्तेजना उत्पन्न गर्न र त्यसलाई कायम राख्न मद्दत गर्ने विश्वास गरिन्छ ।


४. लिची : लिची यस्तो फल हो जुन जेठ–असार महिनातिर फल्छ र बाहिरबाट काँढैकाँढा भएको बोक्राले छोपिएको हुन्छ । त्यसको भित्रपट्टि सेतो, कमलो मासुजस्तो भाग हुन्छ । यसमा पुरुषत्व र प्रजनन शक्ति बढाउने (शुक्रकीटको क्षमता बढाउने) तìव भएको मानिन्छ । यसका अतिरिक्त यसले कमजोरी घटाउने र स्फूर्ति बढाउने तथा पुरुष यौनाङ्गमा शिथिलता आउन नदिने विश्वास गरिन्छ ।

५. मका : यो दक्षिण अमेरिकाको पेरु देशमा फैलिएको एन्डिज पर्वतमालामा पाइने एकथरी रुखको जरा हो । यसले यौनेच्छा बढाउने, लिङ्गको कडापन बढाउनुका साथै पुरुषको चरम आनन्दलाई वृद्धि गर्ने विश्वास गरिन्छ ।

६. मुइरापुवामा : यो दक्षिणी अमेरिकाली महादेशमै अवस्थित अर्काे देश ब्राजिलमा पाइने एक किसिमको घाँसको घारी हो । यसमा यौन संवेदनाका नसालाई उत्तेजित गरी शारीरिक र मानसिक यौन आनन्द बढाउने क्षमता भएको विश्वास गरिन्छ ।

७. माछा : खासगरी ओएस्टर, लोब्स्टर, मुसेल तथा अन्य जातका माछा र तिनमा पाइने तेल एवं माछाका टाउकामा यौनवर्धक तत्व हुने विश्वास गरिन्छ ।

८. रोडिओला रोजिया : यस नामको वनस्पतिले यौन क्षमता बढाई मानिसको यौनशक्ति वृद्धि गर्ने तथा शीघ्रपतनको रोकथाममा यो उपयोगी हुने विश्वास गरिन्छ । साथसाथै यसले परिपक्व उमेरका पुरुषलाई युवाजस्तो यौनजीवन बिताउन सहयोग गर्दछ भन्ने जनश्रुति छ ।

९. जिन सेङ : जिन सेङ यस्तो खनिज पदार्थ हो जो चीन, कोरिया,  अमेरिकालगायत विश्वका अन्य केही भागमा पनि पाइन्छ । यसले शरीरमा नाइट्रिक अक्साइडको मात्रा बढाएर तथा मस्तिष्कमा डोपामिनको मात्रा र असरलाई चुस्तदुरुस्त राखेर नपुङ्सकता हटाउने तथा यौन उत्तेजना बढाउने काम गर्दछ ।

१०. हरनिगोटविड : यो पातैपात हुने एक प्रकारको वनस्पति हो । पुरुष यौनशक्तिवर्धकका रूपमा काम गर्ने विश्वास गरिन्छ ।

११. दामियाना : यो खसीबाख्राको आहारका रूपमा प्रयोग हुने जलमा पाइने एक किसिमको वनस्पति हो । यसले बारम्बार यौनसम्पर्क राख्न इच्छा लाग्ने तथा चरम आनन्दको स्तर वृद्धि गरी पुरुष यौन कमजोरीलाई हटाउन मद्दत गर्दछ । साथै यसले पाचनप्रणालीको भित्री झिल्लीलाई पनि स्वस्थ राख्छ भन्ने विश्वास गरिन्छ । 

१२. एसप्यारागस : लिङ्ग आकारको यो सूक्ष्म वनस्पतिलाई प्रेमको आहार पनि भन्ने गरिन्छ । यसमा हुने पोटासियमले शरीरका दोषयुक्त पदार्थलाई शरीरबाट फाली शरीरमा पानीको सन्तुलन मिलाएर अप्रत्यक्ष रूपमा यौन क्षमतामा पनि वृद्धि गर्ने विश्वास गरिन्छ । 

१३. आर्जिनिन : प्रोटिनयुक्त खानाहरू, जस्तै गेडागुडी, अण्डा, नरिवलको दूध, चिज आदि खाद्य पदार्थमा पाइने यो एक किसिमको एमिनो एसिड हो । यसले नाइट्रिक अक्साइड तयार गरेर यसका माध्यमबाट यौनाङ्गमा रगत प्रवाह बढाउँछ । लिङ्गको कडापनका लागि नाइट्रिक अक्साइड प्राथमिक तìव मानिन्छ । साथसाथै यसमा उमेरका परिवर्तनहरू कम गर्ने एन्टिअक्सिडेन्ट गुण पनि हुन्छ । यसका कारणले पुरुषत्व र यौवनलाई वृद्धावस्थामा पनि निरन्तरता दिन यसले मद्दत गर्दछ । त्यसका साथै शुक्रकीटको अग्रगति लिने क्षमतामा वृद्धि गरेर पुरुषका कारणबाट हुने बाँझोपन हटाउन यसले महìवपूर्ण भूमिका खेल्न सक्छ ।

१४. अश्वगन्धा : झारका रूपमा जमिनमा उम्रने यो वनस्पति आयुर्वेदिक हिसाबले मस्तिष्कको तीक्षणता र यौनशक्तिको निरन्तरताका लागि अत्यन्त उपयोगी मानिन्छ ।

१५. पाँचऔँले : नेपालका विभिन्न भागमा पाइने यो वनस्पति शास्त्रीय हिसाबले पनि यौनक्षमता वृद्धिका लागि उपयोगी मानिन्छ ।

१६. केशर : यो खाद्य तत्व पनि आयुर्वेदिक दृष्टिकोणबाट यौनक्षमता र मानसिक एकाग्रताका लागि उपयोगी छ ।

१७. यार्चागुम्बा : विश्वमा अहिलेसम्म कर्डिसेप्स वर्गमा पर्ने ढुसी (स्याक फङ्गस) हरूका ६८० भन्दा बढी प्रजाति पत्ता लागेका छन् । यीमध्ये सबैभन्दा परिचित ढुसी यार्चागुम्बालाई अङ्ग्रेजीमा ‘क्याटरपिलर फङ्गस’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘कर्डिसेप्स सिनेसिस’ हो । 

यार्चागुम्बा नेपाल र तिब्बतका हिमाली भेगमा पाइने एक प्रकारको बहुमूल्य जडीबुटीमा पर्दछ । 

यार्चागुम्बा एक प्रकारको झुसिलेकीराको टाउकाबाट ढुसी उम्रिएर बन्दछ । यसलाई टिपेर प्रशोधन गरी विभिन्न खाद्य पदार्थमा मिसाई वा औषधिहरूमा सम्मिलित गरी प्रयोग गर्दा शरीरका सम्पूर्ण प्रणालीलाई स्वस्थ राख्ने र खासगरी यौनऊर्जा बढाउने विश्वास गरिन्छ ।


१८. काउछाको बीज : काउछो कोसे वनस्पति हो । यसको बीउलाई धुलो बनाएर नियमित रूपमा खाँदा पुरुषको यौन स्वास्थ्यमा सकारात्मक असर पर्दछ र यसबाट यौन दुर्बलता तथा नपुङ्सकता हराउँछ भनी आयुर्वेदमा उल्लेख छ तर एक्लै सेवन गर्दा यो अत्यन्त तीतो हुने हुँदा यसमा चिनी वा सक्खर (गुड) मिसाएर प्रयोग गर्ने सल्लाह दिइन्छ ।

स्त्रीका लागि उपयोगी

स्त्रीमा पुरुषमा जस्तो यौन उत्तेजनाको कारक तत्त्व शारीरिक उत्प्रेरणा मात्र मानिँदैन । शारीरिक सँगसँगै भावनात्मक उत्प्रेरणा पनि नभई स्त्रीमा यौन चाहना वा यौन उत्तेजना पैदा हुँदैन । पुरुषका लागि स्त्रीका तर्फबाट सानो मात्र अग्रसरता जस्तै चुम्बन वा स्पर्श पनि अनुकूल परिस्थितिका निम्ति पर्याप्त हुनसक्छ तर स्त्रीमा भावनात्मक लगावबिनाको त्यस्तो स्वचालित स्विच हुँदैन ।

तैपनि जनश्रुति, अनुभव र वैज्ञानिक खोजहरू समेतले केही त्यस्ता तत्वलाई इङ्गित गरेको छ, जसको प्रयोग दीर्घकालिक प्रयोग वा सेवनबाट यौन उत्तेजना विकास गर्न मद्दत पुग्ने विश्वास गरिन्छ ।

१. आर्जिनिन : पुरुषमा जस्तै स्त्रीमा पनि मासु, अण्डा, गेडागुडी, माछा, चिज र नरिवलको दूध आदि प्रोटिनयुक्त खाद्य पदार्थहरूमा पाइने एमिनो एसिडले यौनाङ्गमा रक्तसञ्चार बढाई महिलाको यौन उत्तेजना बढाउने, योनीस्राव बढाएर योनीलाई सम्भोगका लागि तयार गर्ने र चरम आनन्द प्राप्तितर्फ अग्रसर गराउने विश्वास गरिन्छ ।

२. दामियाना : मेक्सिकोका महिला पतिसँग सहवास र सम्भोगका लागि आफूलाई तयार गर्न यस जडीबुटीको रस पिउने गर्दथे भन्ने जनश्रुति छ । कसैकसैले दामियाना मिसाइएको चिया खाँदा हलुका मात्रामा गाँजा सेवन गरे जस्तै शारीरिक आनन्द र शान्ति अनुभूति हुने दाबी पनि गर्दछन् । त्यस क्षेत्रका परम्परागत चिकित्साकर्मीहरू अझै पनि यस जडीबुटीलाई नसा, मस्तिष्क, हर्मोन तथा प्रजनन अङ्गहरूको स्वास्थ्यका लागि उपयुक्त मात्रामा टनिकका रूपमा सेवन गर्ने सल्लाह दिने गर्दछन् ।

३. जिन सेङ : यसले शक्ति, स्फूर्ति र यौन चाहनामा वृद्धि गर्ने विश्वास गरिन्छ । 

४. अदुवा : महर्षि वात्स्यायनद्वारा लिखित विख्यात ग्रन्थ ‘कामसूत्र’मा अदुवालाई सम्भोगसुखको वृद्धि गर्ने जडीबुटीका रूपमा उल्लेख गरिएको छ । साथसाथै यसले पाचन प्रणालीका विभिन्न समस्यालाई पनि समाधान गर्दछ । यसलाई चिया वा अन्य पेय पदार्थमा हालेर खानु उपयुक्त हुन्छ । 

५. चकलेट : पूर्ण प्राकृतिक नभए पनि यस शीर्षकमा चकलेटको चर्चा महत्त्वपूर्ण  छ । चकलेटले मस्तिष्कमा सेरोटोनिन भन्ने रासायनिक पदार्थको मात्रा बढाउँछ । सेरोटोनिनले खुसी, सन्तोष र आनन्द अनुभूत गराई मानसिक शान्ति प्रदान गर्दछ । गाढा खैरो रङको चकलेटमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुने हुनाले यसको प्रयोग अत्यन्त राम्रो मानिन्छ । यस्तो मानसिक वातावरणले सम्भोगका बेला यौन आनन्दको प्राप्ति बढाउने हुँदा चकलेटलाई यौनवर्धक तत्त्व मानिन्छ ।

उल्लेखित सबै प्राकृतिक यौनवर्धक प्रयोग गर्ने मात्रा ठीक हुनुपर्दछ । बढी वा कम प्रयोग गर्नु उपयुक्त हुँदैन तर नियमित भने हुनुपर्दछ ।

प्राकृतिक यौनवर्धक तत्त्वहरूको प्रयोग सँगसँगै मानिसको आहार, व्यवहार, जीवनपद्धति र मानसिक स्थिति राम्रो रहे मात्र यिनको पूर्ण प्रभाव देख्न सकिन्छ ।

प्राकृतिक तत्त्वबाहेक सुक्खा योनीलाई चिप्लो र द्रवित बनाउने रासायनिक तत्त्वहरू पनि महिलाको योनीमा प्रयोग गरेर यौन आनन्द वृद्धि गर्न सकिन्छ । 