• १९ असार २०८१, बुधबार

प्रमुखमा महिला मात्रै उम्मेदवार

blog

रेखीराम राना

पाल्पा, वैशाख १४ गते  । जिल्लाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा चार जना महिलाले मात्र उम्मेदवारी दिनुभएको छ । नेकपा एमालेका तर्फबाट सरस्वती चिदी, गठबन्धनबाट नेपाली काँग्रेसकी  सुनिता अधिकारी र स्वतन्त्रबाट पनि महिलाले नै अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । 

बगनासकालीमा जनता समाजवादी पार्टीबाट मीनाकुमारी गाहा र स्वतन्त्रबाट अम्बिका पाण्डेयले अध्यक्षमा उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बगनासकालीमा चार महिलासहित सात जनाको अध्यक्षमा मनोनयन परेको जिल्ला निर्वाचन अधिकारी रुक्मागत अर्यालले जानकारी दिनुभयो । 

बगनासकालीमा उपाध्यक्षमा नेकपा एमालेबाट हरिप्रसाद पाठक, गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट खिमानन्द पाण्डेले उम्मेदवारी दिनुभएको छ । मङ्गोल नेसनलबाट चन्द्राकुमारी दिसुवा, जनमुक्तिबाट खगिसरा लामिछाने र जसपाबाट हेमबहादुर सोमैको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय बगनासकालीका अधिकृत रवि न्यौपानेले जानकारी दिनुभयो । 

पालिकादेखि वडासम्म महिला मात्रै 

राष्ट्रिय जनमुक्ति पार्टीले तिनाउ गाउँपालिकामा महिलाहरूको मात्र उम्मेदवारी दर्ता गराएको छ । राज्य सत्ता सञ्चालनको अवसरबाट वञ्चित रहेका जनजाति महिलालाई आगामी स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्मका उम्मेदवार मनोनयन गराएको सो पार्टीले जनाएको छ । 

गाउँपालिका अध्यक्ष लक्ष्मीकुमारी अस्लामी, उपाध्यक्ष वसन्ती थापा (अस्लामी) ले उम्मेदवारी दिनुभएको छ । तिनाउ गाउँपालिका–६ मा वडा अध्यक्षमा मनकुमारी सिँजाली, दलित सदस्यमा हुमाकुमारी दर्जी, महिला सदस्यमा निर्मला सिँजाली, खुला सदस्यमा कमला अस्लामी, खुला सदस्य नारायणी थापा (अस्लामी) ले मनोनयन दर्ता गराएको पार्टीले जनाएको छ । 

स्वतन्त्र उम्मेदवारी 

यसैबीच नेकपा एमाले र काँग्रेसका नेताहरूले बागी उम्मेदवारी दिनुभएको छ । जिल्लाको निस्दी गाउँपालिकामा एमालेका नेता दमनसिंह पाटामगरले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । यस्तै रैनादेवी छहरामा असन्तुष्ट काँग्रेसका नेताहरूले समेत स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । 

नेपाली काँग्रेस रैनादेवी छहराका सभापतिसमेत रहनुभएका विष्णुप्रसाद पोखरेलले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । गाउँपालिकामा २०७४ सालको निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित चेतकुमारी थापाले समेत स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।