• ६ जेठ २०८१, आइतबार

बजेट छलफल : हुलाकलाई ‘इकमर्स’मा उपयोग गर्न प्रस्ताव

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १४ गते । हुलाक कार्यालयलाई अनलाइन व्यापार गर्ने माध्यमका रूपमा प्रयोग गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रस्ताव गरेको छ । मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित बजेट छलफलका क्रममा मन्त्रालयले त्यस्ता कार्यालयहरूलाई ‘इकमर्स प्लेटफर्म’का रूपमा उपयोग गर्ने प्रस्ताव राखेको हो । त्यस्तै, मन्त्रालयले दोलखामा फिल्म सिटी निर्माण गर्नुपर्ने प्रस्ताव पनि राखेको छ ।

मन्त्रालयको प्रस्तावमा अर्थमन्त्री जनार्दन शर्माले पुराना जनशक्तिलाई अवकाश दिएर नयाँ जनशक्तिमार्फत भए पनि हुलाक सेवालाई नयाँ ढङ्गबाट सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

हुलाक सेवालाई आधुनिकीकरण गर्नेगरी कार्ययोजना ल्याउन र आगामी आर्थिक वर्षको बजेटमै समावेश गर्न पनि उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौँ । निजी क्षेत्रको प्रगति हेरेर हामीचाहिँ पुरानै शैलीमा बसेर हुँदैन ।” त्यस्तै उहाँले उपयुक्त साझेदार खोजेर दोलखामा फिल्म सिटी बनाउने कार्यक्रम र बजेट ल्याउन पनि सुझाव दिनुभयो । 

छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आवको बजेटमा ठोस विषय वस्तुमात्रै समेटेर आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । “यहाँ श्रीलङ्काको अर्थतन्त्रलाई देखाएर डर पैदा गर्ने काम भइरहेको छ । यस्ता कुरालाई चिर्दै देशको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आउनुपर्छ,” उहाँले भन्नुभयो ।

मन्त्रालयका तर्फबाट प्रस्तुतीकरण गर्दै सचिव वैकुण्ठ अर्यालले सबै सरकारी निकायले विज्ञापनको भुक्तानी गर्दा ३ प्रतिशत रकम अनिवार्य रूपले कट्टा गर्ने र यसरी कट्टा गरेको रकम बिज्ञापन बोर्डको कोषमा दाखिला गर्ने व्यवस्था लागू गर्न प्रस्ताव राख्नुभयो । 

“यस्तो व्यवस्थाले लोककल्याणकारी विज्ञापनको बजेट विनियोजनमा चाप पर्दैन,” उहाँले भन्नुभयो । त्यस्तै, उहाँले हुलाक सेवा परम्परागत शैलीले चलेको भन्दै सुधारको खाँचो रहेको बताउनुभएको थियो ।