• ६ जेठ २०८१, आइतबार

दुरुलेकमा पदमार्ग निर्माण

blog

ठाकुरप्रसाद आचार्य

बेनी (म्याग्दी), वैशाख १४ गते । म्याग्दीको मालिका गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल दुरुलेकमा पदमार्ग निर्माण गरिएको छ । म्याग्दी र बागलुङको सिमानामा पर्ने दुरुलेक पुग्न पदमार्ग निर्माण गरिएको हो । चारैतिर हिमालको दृश्यवलोकनसहित पर्यटक पदयात्रा गरेर दुरुलेक पुग्छन् । 

गण्डकी प्रदेश सरकारको २५ लाख रुपियाँबाट गाउँपालिकाले उक्त स्थानमा पदमार्ग निर्माण गरेको गाउँपालिका उपाध्यक्ष खरमाया बिटालूले बताउनुभयो । उहाँले दुरुलेकलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न गाउँपालिकाले यस क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्न लागेको जानकारी दिनुभयो । त्यहाँ प्रदेश सरकारकै बजेटमा १० लाख रुपियाँ खर्चिएर पाहुनाघरसमेत निर्माण गरिएको छ । 

समुद्री सतहदेखि तीन हजार ४८४ मिटर उचाइमा अवस्थित दुरुलेकबाट हिमशृङ्खलाका साथै बागलुङ र म्याग्दीको ग्रामीण भूगोलको अवलोकन गर्न सकिन्छ । प्राकृतिक, जैविक, ऐतिहासिक र धार्मिक महŒव रहेको दुरुलेक पर्यटनको प्रचुर सम्भावनायुक्त स्थल भए पनि पूर्वाधारसँगै प्रचार–प्रसार अभावले ओझेलमा परेको रुमका चोकेन पुनमगरले बताउनुभयो । 

लालीगुराँसको घना जङ्गल, म्याग्दी र बागलुङलगायत जिल्लाको ग्रामीण बस्तीका डाँडाकाँडा, धौलागिरि, अन्नपूर्ण, निलगिरिलगायतका हिमाल एउटै शृङ्खलामा नजिकबाट अवलोकन गर्न सकिने वडाध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।