• १२ साउन २०८१, शनिबार

इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा कोशी प्रदेशकै उत्कृष्ट

blog

इलामको सूर्योदय नगरपालिका ।

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम) जेठ २३ गते। इलामको सूर्योदय नगरपालिका शिक्षा क्षेत्रमा कोशी प्रदेशकै सर्वोत्कृष्ट पालिकाका रूपमा छनौट भएको छ। देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको संस्था प्रिन्सिपल्स एसोसिएसन अफ् नेपालले सूर्याेदयलाई शिक्षा क्षेत्रमा गरेको योगदानका आधारमा कोशी प्रदेशको उत्कृष्ट पालिकाका रूपमा छनौट गरेको हो। 

एसोसिएसनले शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका उत्कृष्ट पालिका, विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गर्न गठित मूल्याङ्कन समितिले कोशी प्रदेशमा सूर्याेदयलाई छानेको जनाएको छ। 

एसोसीएसनको जेठ २६ गतेदेखि काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनमा नगरपालिकालाई पुरस्कृत गर्न लागिएको एसोसिएसनका अध्यक्ष सुदाम गौतमले जानकारी दिनुभयो। नगरलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गर्ने कार्यक्रम छ।  

देशका सातै स्थानीय तहका एक–एक स्थानीय तह, एक–एक प्रधानाध्यापक र एक–एक विद्यालयलाई वर्ष उत्कृष्ट घोषणा गरी पुरस्कृत गर्न लागिएको हो। एसोसीएसनले पालिकाले छनौट गर्दा विभिन्न सूचक पुरा गरेको हुनुपर्ने जनाएको छ। 

शिक्षाका सूचकमा शिक्षामा गरेको लगानीमा ३० अङ्क, निःशुल्क र समावेशी शिक्षामा १० अङ्क, दीर्घकालीन योजनामा १० अङ्क, असल अभ्यासमा २० अङ्क, प्राविधिक सञ्चालनमा १० अङ्क, स्थानीय पाठ्यक्रम तथा प्रविधिमा १० अङ्क र सुशासनमा १० अङ्क गरी मूल्याङ्कन गरेको थियो। 

त्रिभुवन विश्वविद्यालयका शिक्षा शास्त्रका डिन, प्राध्यापक डा.चित्रबहादुर बुढाथोकी संयोजक तथा काठमाडौँ महानगरपालिकाका पूर्व शिक्षा विभाग प्रमुख (उपसचिव) रामप्रसाद सुवेदी, ज्ञानोदय मावि काठमाडौँका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा (अधिकारी)  र शिक्षा पत्रकार  प्रकृति अधिकारी सदस्य रहनुभएको समितिले नगरलाई कोशीको उत्कृष्ट छनौट गरेको हो।  

सूर्योदयले १२ महिना १२ कार्यक्रम, छोरी बुहारी शिक्षा, गणित विज्ञान प्रदर्शनी, बाल बचत खाता सञ्चालन, अभिभावक परिचयपत्र वितरण सहित विद्यालयलाई प्रविधिमैत्री बनाउने काम गरेको छ। नगरले विगतदेखि नै शिक्षकको तलब समेत मासिक रूपमा उपलब्ध गराउँदै आएको छ। 

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईका अनुसार चालु आर्थिक वर्ष नगरले आन्तरिकतर्फ शिक्षा क्षेत्रमा चार करोड ४८ लाख ८० हजार रकम विनियोजन गरेको थियो। यस्तै शसर्त तर्फ ३१ करोड ३३ लाख रुपियाँ रकम प्राप्त गरेर काम गरिरहेको छ। 

कोशीमा इलामको सूर्योदय, मधेसमा बाराको कौहलवी, बागमतीमा काठमाडौँ महानगर, गण्डकीमा नवलपरासी पूर्वको मध्यबिन्दू नगरपालिका, लुम्बिनीमा बर्दियाको ठाकुरबाबा नगरपालिका, कर्णालीमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुदूरपश्चिममा धनगढी उपमहानगरलाई यो वर्ष शिक्षा क्षेत्रमा काम गर्ने प्रदेशका उत्कृष्ट पालिका छानिएका छन्। 

सूर्योदय नगर पालिकाका नगर प्रमुख रणबहादुर राईले नगरले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो। 

नगर प्रमुख राईले शिक्षामा गरेको लगानीको प्रतिफल तत्काल नपाइने भए पनि दीर्घकालीन रूपमा यसको प्रभाव नगरका लागि मात्र नभएर देशकै लागि फलदायी हुने बताउनुभयो। 

नगरले नगरका सामुदायिक विद्यालयमा मिनी म्याथ ल्याब स्थापना गरेको छ। नगरले इ–हाजिरी जडान गरी डिजिटल डिस्प्ले मार्फत अध्ययन गराउने व्यवस्था विद्यालयमा गरेको छ। 

नगरका ६५ सामुदायिक विद्यालय र ३१ संस्थागत विद्यालयमा ११ हजार बढी विद्यार्थी अध्ययनरत रहेको शाखाका प्राविधिक सहायक नवीन पौडेलले जानकारी दिनुभयो। पौडेलका अनुसार अहिले ६० प्रतिशत विद्यार्थी सामुदायिक र ४० प्रतिशत विद्यार्थी संस्थागतमा अध्ययनरत रहेका छन्। नगरले संस्थागत विद्यालयमा समेत सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ। बालमैत्री नगर घोषणा गरिएकोमा पछिल्लो समय नगरले पोषणमैत्री नगर घोषणाको तयारी गरिरहेको छ।