• १२ साउन २०८१, शनिबार

हावाहुरीले मकै बालीमा क्षति

blog

सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकमा हावाहुरीले क्षति गरेको मकै बाली । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ २३ गते ।
 ताप्लेजुङमा मङ्गलबार साँझ वर्षासँगै आएको हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न ठाउँमा किसानले लगाएको मकै बालीमा हावाहुरीले क्षति पुर्‍याएको  हो ।

सदरमुकामस्थित फुङ्लिङ नगरपालिकासहित जिल्लाका अधिकांश क्षेत्रमा वर्षासँगै आएको हावाहुरीले मकै बाली र अन्य बोट बिरुवालाई क्षति पुर्‍याएको छ । यहाँको सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकमा हावाहुरीले मकै बालीमा निकै क्षति गरेको स्थानीय टीका थेबेले जानकारी दिनुभयो । उहाँकाअनुसार हावाहुरीले घोगा लाग्न (सुत्ला चेप्न) सुरु भएको मकैका बोटहरू सोत्तर बनाएको छ ।

आठराई त्रिवेणी गाउँपालिकाका स्थानीय शिक्षक विजय गौतमका अनुसार हावाहुरीले किसानले लगाएको मकै बालीलाई क्षति गर्नुका साथै बाटोघाटो अवरोध हुने गरी ठाउँ–ठाउँमा रुखहरू ढालेको छ । कमै बालीसँगै सुन्तला, एभोकाडो, किवीलगायत फलफूलका बोटबिरुवा पनि हावाहुरीले क्षति गरेको स्थानीयले बताएका छन् ।

एक मुख्य खाद्यान्न बालीको रूपमा रहेको मकै खेतीमा हावाहुरीले क्षति गरेपछि वा मकैका बोट ढालेर सोत्तर बनाएपछि उत्पादनमा कमी आउनेभन्दै किसान चिन्तित बनेका हुन् । यता हावाहुरीले पुर्‍याएको जिल्लाभरको क्षतिको विवरण भने आइनसकेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी शशीकुमार सिंहका अनुसार सिरिजङ्घा गाउँपालिकामा करिब पाँचसय रोपनी जग्गामा लगाएको मकै बालीमा हावाहुरीले क्षति गरेको छ ।

त्यस्तै फक्ताङ्लुङ गाउँपालिकामा विभिन्न वडामा गरी करिब पाँच सय रोपनी क्षेत्रफल बराबरको जग्गामा लगाइएको मकै बालीमा हावाहुरीले क्षति गरेको जानकारी आएको सिंहले बताउनुभयो । उहाँकाअनुसार फक्ताङ्लुङ गाउँपालिकामा तरकारीजन्य खेतीका लागि किसानले बनाएको टनेल (छाहारी) पनि हावाहुरीले क्षति पुर्‍याएको छ । जिल्लाका अन्य स्थानीय तहमा हावाहुरीले गरेको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।