• १३ साउन २०८१, आइतबार

वीरगञ्जको नगर प्रमुखमा १८ र उपप्रमुखमा चार जनाको उम्मेदवारी दर्ता

blog

दिपकप्रसाद गौतम
वीरगञ्ज, वैशाख १२ गते।
  स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नको लागि आइतबार र सोमबार भएको मनोनयन दर्तामा वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा १८ जनाले मनोनयन दर्ता गराउनु भएको छ। 

निवर्तमान नगरप्रमुख विजयकुमार सरावगी, पत्रकार गिरिश गिरी, जसपाका राजेशमान सिंहसहित १८ जनाले वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा मनोनयन दर्ता गराउनु भएको वीरगञ्ज महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो। महानगरको उपप्रमुख पदमा भने ४ जनाको मात्र मनोनयन दर्ता भएको उहाँले बताउनुभयो।

 त्यस्तैगरी नगर प्रमुखमा मनोनयन दर्ता गर्नेमा निवर्तमान नगरप्रमुख नेकपा एमालेका विजयकुमार सरावगी, नेपाल मजदुर किसान पार्टीका गोकर्णप्रसाद कोइरी, राष्ट्रिय सद्भावना पार्टीका विजयकुमार रौनियार राप्रपाका पत्रकार गिरिश गिरी, जनता समाजवादी पार्टीका राजेशमान सिंह रहनु भएको छ। नगरप्रमुखमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनेमा राजेश सिंह, राधेश्याम साह, कैलाश सरार्फ, संजिवकुमार यादव, बिक्की राज पटेल, महम्मद रियाजुलहक, फिरोज आलम, महम्मद सगिर अलि, राजेन्द्रप्रसाद सिंह भुईयार, रिजवान अलि, जमिल रायभाठ र प्रभात सिंह रहनुभएको छ। 

२०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट निर्वाचित हुनु भएका वीरगञ्ज महानगरपालिकाका निर्वतमान नगरप्रमुख विजयकुमार सरावगी ढेड महिना पहिले नेकपा एमालेमा प्रवेश गर्नुभएको थियो। नेकपा एमाले र लोसपाबीच तालमेल गरी सरावगी उम्मेदवार बन्नु भएको हो। त्यस्तैगरी सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीले ढेड महिना पहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट आउनु भएका राजेशमान सिंहलाई उम्मेदवार बनाएको हो। 

वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा भने सत्ता गठबन्धन, एमाले/लोसपा गठबन्धन र राप्रपाबाट १/१ जना र १ जना स्वतन्त्रसहित ४ जनाले मनोनयन दर्ता गराउनु भएको छ।  सत्ता गठबन्धनबाट नेपाली काग्रेसका जिल्ला सचिव ईम्तियाज आलम, एमाले/लोसपा गठबन्धनबाट लोसपाका जिल्ला अध्यक्ष पुरुषोतम् झा, राप्रपाबाट विणा शर्मा उम्मेदवार बन्नु भएको छ। त्यस्तैगरी लोसपाकी नेतृ रम्भा मिश्रले स्वतन्त्र रही उपप्रमुखमा मनोनयन दर्ता गराउनु भएको महानगरका मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो। 

नगरप्रमुख र उपप्रमुखमा दुई छुट्टाछुट्टै गठबन्धन भएर उम्मेदवार बने पनि वडामा भने तालमेल हुन नसक्दा पार्टीले महानगरपालिकाका ३२ वटै वडामा छुट्टाछुट्टै वडा अध्यक्ष एवम् वडा सदस्यको मनोनयनपत्र दर्ता गराएका छन्।