• ३ असार २०८१, सोमबार

'बल्दे अम्कोट वैकल्पिक सडक सुचारु गर्न आवश्यक'

blog

प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको नेतृत्वको टोली बल्दे सडकको अनुगमन गर्दै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, जेठ १३ गते । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्दे, अम्कोट सडक अनुगमन गरिएको छ । जिल्लास्थित विभिन्न सरोकारवाला निकायद्वारा साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्दे, अम्कोट सडकको अनुगमन गरिएको हो ।

साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्दे, अम्कोट सडक बर्खाको बेला सधै अवरुद्ध हुने गरेकोले यो वर्ष यसलाई नियमित गर्ने उद्देश्यले जिल्लास्थित सबै सरोकारवाला निकायले अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

बर्खाको समय थोरै पानी पर्नेबित्तिकै सडक भत्किने गरेकोले सक्भर यसैलाई नियमित गर्ने र यदि यो सडकलाई सुचारु गर्न सकिने भने विकल्पको रुपमा बल्दे अम्कोट वैकल्पिक सडक सुचारु गर्न आवश्यक रहेको अनुगमन टोलीको बुझाइ छ ।

मनसुन अगावै यो सडक अवरुद्ध हुने गरेकोले वर्खाको समय मार्तडीमा जाने लामो दुरीका सवारी साधनलाई निकै सास्ती खेप्दै आउनुपरेको बूढीगङ्गा नगरपालिका–२ बल्दे टिकट काउन्टरका वीरबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदको सुख्खा महिनासमेत ठुला साधनलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने यो सडक बर्खाको समय सधैं अवरुद्ध हुन्छ । 

सडक अवरुद्ध बन्ने गरेकोले बर्खाको समय सदरमुकाम मार्तडीका व्यापारीहरुले दैनिक उपभोग्य खाद्यान सामग्री ढुवानी गर्दा निकै सास्ती खेप्दै आउने गरेको थापाले बताउनुभयो।

गत वर्ष लामो समयसम्म सडक अवरुद्ध हुँदा मार्तडीका व्यापारीहरुले सामान भरियामार्फत ढुवानी गर्दै आएका थिए । अहिले पनि त्यो स्थिति नआउला भन्न सकिदैन । गत वर्षमा असारदेखि भदौसम्ममा अवरुद्ध हुँदै आएको यो सडक हिउँदका केही दिनमा गाडी सुचारु भए पनि फेरि वर्खाको समय उस्तै हुने गर्छ । हिउँदका केही दिन बस, ट्रक, जीप र ट्क्याटर मार्तडी तथा मार्तडीदेखि कोल्टी सुचारु हुँदै आए पनि बर्खामा ती सबै सवारी साधान बल्देमै रोकिने गर्दछन् ।

अम्कोट बल्दे सडक स्थायी रुपमा मर्मत नहुँदा बर्खाको समय यहाँका व्यापरीले सधै भरियामार्फत सामान मार्तडी ढुवानी गर्दै आएका छन् । गाडी सुचारु भएको समयमा सस्तो र सुलभ रुपमा सामान खरिद गर्दै आएका बाजुराका स्थानीयबासीलाई बर्खाको समय सधै चर्को मुल्यमा सामान खरिद गर्नुपर्ने हुन्छ । 

गत वर्ष बाटो अवरुद्ध भएका कारण गाडी बन्द हुँदा यहाँका स्थानीयलाई समेत आउजाउ गर्न निकै समस्या भएको थियो । वर्खाको समय बल्दे अम्कोट सडकको तलमाथिबाट पहिरो बग्ने गरेकोले मर्मत गर्न समस्या भएपछि सडक अवरुद्ध हुने गरेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

बर्खाको समय साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्दे,अम्कोट सडकलाई कसरी सुचारु गर्ने भन्ने उद्देश्यले यतिबेला यो सडक अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बल्दे अम्कोटको सडकको आसपासमा बर्खाको समय सधै स्काइभेटर राख्ने र सडक अवरुद्ध हुनेबित्तिकै त्यो स्काइभेटरले बाटो सफा गर्ने हो भने सडक सुचारु गर्न सकिने सम्भावना छ ।”

यदी यसो गर्दा पनि यो सडक अवरुद्ध भएपछि बल्दे अम्काेट वैकल्पिक सडकलाई व्यवस्थित गरेर जीप ट्याक्टरलगायतका साना सवारी साधन सुचारु गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।