अविनाश चौधरी
धनगढी, असार २९ गते । छाउपडी गोठमा बसेको बेला विषालु सर्पको टोकाइबाट एक महिलाको ज्यान गएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउपडी गोठ भत्काउन उर्दी जारी गरिएको छ ।
पालिकाको केही वडामा अझै पनि छाउपडी प्रथा कायम रहेको भन्दै नगरपालिकाको कार्यालयले १५ दिनभित्रै त्यस्ता गोठ भत्काउन उर्दी जारी गरेको हो। छाउपडी गोठमा बसेको बेला शुक्रबार राति सर्पले डसेपछि कृष्णपुर नगरपालिका–१ की २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको थियो ।
महिलाको अकालमै ज्यान गएपछि नगरपालिकाको कार्यालयले सबै वडा कार्यालयलाई छाउपडी गोठको निरीक्षण गरी भत्काउन आदेश दिएको छ । गोठ नभत्काउनेलाई कानुनी कारबाहीसहित १० हजार रुपियाँ जरिवाना हुने प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले जानकारी दिनुभएको छ ।