• ३० असार २०८२, सोमबार

‘आन्छन’ साहित्यिक पुरस्कार याक्सोलाई

blog

साहित्यकार हर्क याक्सो (दायाँ) लाई पुरस्कार वितरण गर्नुहुँदै प्राज्ञ सुरोज मादेन। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २९ गते। ताप्लेजुङस्थित कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानले चन्द्र मादेन ‘आन्छन’ साहित्यिक पुरस्कार साहित्यकार हर्क याक्सो लिम्बूलाई प्रदान गरेको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङ निवासी याक्सोलाई २० हजार रुपियाँ राशिको आन्छन साहित्यिक पुरस्कार प्रदान गरिएको हो।

प्रतिष्ठानले २१२ औं भानुभक्त जन्मजयन्तीको अवसरमा आइतबार सदरमुकाम फुङ्लिङमा कार्यक्रम आयोजना गर्दै अग्रज साहित्यकार याक्सोलाई उक्त पुरस्कार प्रदान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुरोज मादेनले याक्सोलाई कदरपत्रसहित पुरस्कार रकम वितरण गर्नुभयो।

साहित्य क्षेत्रमा याक्सोले पुर्‍याउनुभएको योगदानको मूल्याङ्कन गरी युसवर्ष चन्द्र मादेन आन्छन साहित्यिक पुरस्कार उहाँलाई प्रदान गरिएको हो। कञ्चनजङ्घा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईका अनुसार विभिन्न स्रष्टा तथा सर्जकबाट प्राप्त भएको प्रकाशित कृति (पुस्तक) लाई मूल्याङ्कन गरी सर्वोत्कृष्टका आधारमा याक्सोलाई पुरस्कार प्रदान गरिएको छ।

आन्छन पुरस्कार वितरणका लागि पुरस्कृत हुने स्रष्टा छनोटका लागि अग्रज साहित्यकार भरतकुमार गुरुङ संयोजक रहेको एक छनोट तथा मूल्याङ्कन समिति निर्माण गरिएको थियो। छनोट तथा मूल्याङ्कन समितिको समीक्षासहित नाम सिफारिस गरेअनुसार याक्सोलाई पुरस्कार प्रदान गरिएको भट्टराईले बताउनुभयो। साहित्यकार यक्सोले पैतालाका डोबहरुलगायत आफ्ना तीनवटा प्रकाशित साहित्यिक कृति पुरस्कारका लागि मूल्याङ्कन गराउन प्रतिष्ठानलाई उपलब्ध गराउनुभएको थियो।

यता पुरस्कार वितरण कार्यक्रमसँगै जिल्लाका साहित्यकारहरुले रचना वाचन गर्नुभएको छ। करिव दुई दर्जनको सङ्ख्यामा सहभागी साहित्यिक स्रष्टा तथा कविहरुले विभिन्न विधाका रचना वाचन गर्नुभएको थियो। आदिकवि भान जयन्ती तथा पुरस्कार वितरण कार्यक्रममा रचना वाचन गर्ने सबै स्रष्टालाई प्रमाणपत्र वितरण गरिएको प्रतिष्ठानका सचिव शान्तिराम नेपालले जानकारी दिनुभयो।