• ३० असार २०८२, सोमबार

फङ्फङदेन झरना महोत्सवबाट आयोजकलाई नाफा

blog

फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक महोत्सवको आयव्यय सार्वजनिक गरिँदै। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २९ गते। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा गत मङ्सिर दोस्रो साता आयोजना गरिएको फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक महोत्सवबाट आयोजकलाई नाफा भएको छ। जिल्लाकै एक पर्यटकीय गन्तव्य फुङ्फगे झरनास्थल मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बामा आयोजना गरिएको महोत्सवबाट आयोजकलाई नाफा भएको हो।

प्राय, मेला महोत्सवका आयोजकले घाटा अर्थात ऋण परेको भनेर खर्च विवरण सार्वजनिक गर्ने गरिएएकोमा फङ्फङदेन झरना पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजकलाई भने नाफा भएको हो। सदरमुकाम फुङ्लिङमा आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको महोत्सवको खर्च विवरणअनुसार आयोजकलाई करिव सात लाख रुपियाँ नाफा भएको हो।

आयोजक फङ्फङदेन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार संस्थालाई आवश्यक पर्ने सामग्री जिन्सी र वचत रकमसमेत सात लाख रुपियाँ बढी रकम फाइदा अर्थात नाफा भएको छ। मिक्वाखोला गाउँपालिका अध्यक्ष कप तथा फङ्फङदेन झरना पर्यटन महोत्सव सम्पन्न गर्नलाई कुल २३ लाख ९८ हजार रुपियाँ खर्च भएको आयोजक समितिका अध्यक्ष साँवाले जानकारी दिनुभयो।

उहाँकाअनुसार उक्त रकमबराबर खर्च हुँदा महोत्सव सञ्चालनका लागि २५ लाख ५० हजार रुपियाँ सहयोग रकम सङ्कलन भएको छ। मिक्वाखोला गाउँपालिकाबाट १० लाख रुपियाँ, देश विदेशबाट दाताले सहयोग गरेको १४ लाख रुपियाँ र स्थानीय बजार व्यवस्थापनबाट एक लाख ५० हजार रुपियाँ आयोजकले आम्दानी गरेको साँवाले जानकारी दिनुभयो। 

महोत्सवको आयव्यय सार्वजनिक कार्यक्रममा गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्की, आयोजक समितिका अन्य पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। खर्चमा मितव्ययितासहित नाफा आर्जन अर्थात वचत गर्न सफल भएकोमा गाउँपालिका अध्यक्ष कार्कीले आयोजकलाई धन्यवाद दिनुभएको छ। महोत्सव गत मङ्सिर ७ देखि १० गतेसम्म सञ्चालन भएको थियो।