अमरराज नहर्की
तनहुँ, असार २९ गते। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई पर्यटकीय गन्तव्य स्थल बनाइने बताउनुभएको छ।
२१२औँ भानु जयन्तीका अवसरमा आदिकवि भानुभक्तको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घामा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले पूर्वाधार निर्माण तथा प्रचार प्रसारमा सहयोग गरेर पर्यटकको आकर्षणको केन्द्र बनाइने बताउनुभयो।
चुँदीरम्घालाई साहित्यिक गन्तव्यका रूपमा विकास गर्ने गरी प्रदेश सरकार अग्रसर रहने प्रतिबद्धता उहाँले गर्नुभयो।भानुभक्तले साहित्यको माध्यमबाट नेपाली भाषा र साहित्यलाई विदेशसमेतमा चिनाउन सफल भएको तर पूर्वाधारको अभावले यो ठाउँ ओझेलमा परेकाले यहाँको विकासको लागि प्रदेश सरकारले प्राथमिकताका साथ बजेटको व्यवस्था गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो।साथै मुख्यमन्त्री पाण्डेले भानुभक्त नेपाली भाषाका एकताका सूत्रधार रहेको बताउनुभयो।
भानु नगरपालिका र आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष गौकुमारी न्यौपाने, समितिका पूर्व कार्यकारी निर्देशक शङ्कर रानाभाट लगायतले भानु जयन्तीमा मात्रै भानुको योगदान सम्झिएर नहुने उल्लेख गर्दै सधै स्मरण गर्ने यस क्षेत्रको विकासको लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो।भानु जयन्तीको अवसरमा स्थानीयवासीद्धारा विभिन्न जातीय झाँकी प्रदर्शन गरिएको थियो।