काठमाडौँ, जेठ १० गते। त्रिभुवन विश्व विद्यालयअन्तर्गत चिकित्सा शिक्षा तथा नर्सिङ शिक्षातर्फ नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानले उत्कृष्ट नतिजा निकालेको छ।
प्रतिष्ठानको १२औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा महाविद्यालयले प्रस्तुत गरेको विवरणमा चिकित्सा शिक्षासहितको विभिन्न विद्यामा सैनिक महाविद्यालयले उत्कृष्ट अङ्क सहित शतप्रतिशत नतिजा हासिल गरेको उल्लेख छ।
प्रतिष्ठानका कार्यकारी निर्देशक तथा पूर्वउपरथी प्राध्यापक डा. देवेन्द्र राज खत्रीका अनुसार सैनिक महाविद्यालयले गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजा हासिल गरेको हो।
खत्रीका अनुसार प्रतिष्ठानबाट अध्यापन पुरा गरेका एमबिबिएस तर्फका ९४ प्रतिशत विद्यार्थीले मेडिकल काउन्सिलको परीक्षामा सफलता हासिल गरेको र नर्सिङतर्फ शतप्रतिशत उर्तीण भएको जानकारी दिनुभयो।
समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानसेनापति प्रभुराम शर्माले चिकित्सा विज्ञानमा आएको परिवर्तन र प्रविधिको विकाससँगै गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले मुलुकलाई आवश्यक पर्ने दक्ष चिकित्सक जनशक्ति उत्पादन गर्न प्रतिष्ठानले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका सेनापति शर्माले चिकित्सा विज्ञानमा ‘रोवोटिक’ प्रविधिको विकास भइसकेको अवस्थामा प्रतिष्ठानले नवीनतम विधिमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
समारोहलाई सम्बोधन गर्नुहुँदै त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा.डा केशरजङ्ग बराले स्वास्थ्य शिक्षा जस्तो जटिल विषयमा प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्नु अतुलनीय योगदान रहेको बताउनुभयो।
समारोहमा प्रधानसेनापति शर्माले नर्सिङ शिक्षातर्फ सर्वोकृष्ट नतिजा हासिल गर्न सफल छात्रा रन्जु अधिकारी र एमबिबिएसतर्फ सर्वोकृष्ट नतिजा हासिल गर्न सफल छात्र जिनिस महर्जनलाई गोल्ड मेडलसहित नगद पुरस्कार प्रदान गर्नुभयो।
विभिन्न विधामा अध्ययनरत वर्षका उत्कट विद्यार्थी पूजा अधिकारी, जानकी पुरी, कजन थापा र रजनी गुरुङ, सरूँ योगी, विद्या भाट र राहुल यादव, सजिना श्रेष्ठ, गरिमा गुरुङ र अमृता ढुङ्गाना, जेनिशा गुरुङ, निरन्जना साउदलाई सेनापति शर्माले जनही १० हजार रुपियाँसहित पुरस्कार तथा मेडल प्रदान गर्नुभयो।
चिकित्सा शिक्षा अन्तर्गतका एमबिबिएस, बिएस्सी नर्सिङ, बिएन, बिपीएच तथा बीएससीएमएलटी गरी पाँच विषय तथा प्रमाणपत्र तहमा पिसिएल नर्सिङ, जनरल मेडिसिन, फार्मेसी, रेडियो ग्राफी, फिजियो थेरापी तथा सिएमएलटी विद्यामा हाल एक हजार १९० जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ।
 
                                
                             
                                                 
                                                             
                                                                -square-thumb.jpg) 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                