• १४ कात्तिक २०८२, शुक्रबार

आर्थिक सङ्कटमा अस्पतालः ल्याब र एक्सरे सेवा जोखिममा

blog

दोलखा जिल्ला अस्पताल भवन ।

सुजन काफ्ले

चरीकोट, कात्तिक १४ गते । जिल्लाको सदरमुकाम चरिकोटमा रहेको पशुपति चौलागाईं अस्पताल गम्भीर आर्थिक संकटमा परेको छ। स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमामार्फत सेवा दिए बापतको रकम भुक्तानी नगर्दा अस्पताल आर्थिक सङ्कटमा परेको हो।

आर्थिक सङ्कटका कारण नियमित सेवा बन्द हुने जोखिममा पुगेको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल सञ्चालन समितिका अध्यक्ष सुबास रिमालले अस्पतालले बिमा सेवा प्रदान गरेर पनि भुक्तानी पाउन नसक्दा सञ्चालनमा समस्या बढ्दैगएको बताउनुभयो।

स्वास्थ्य बिमामार्फत करिब ८६ लाख ९६ हजार रुििपयाँ भुक्तानी पाउने बाँकी रहेको अध्यक्ष रिमालले बताउनुभयो । बिमाले भुक्तानी नगर्दा अस्पतालले औषधी खरिद, ल्याब, एक्सरे र अन्य सेवा बन्द हुने जोखिम बढेको उहाँले बताउनुभयो। 

प्रदेश अस्पताल भए पनि प्रदेश सरकारले सहयोग नगरेका कारण अस्पताल सञ्चालनमा कठिनाइ भएको उहाँको भनाइ छ। उहाँले आर्थिक अभावले सबै औसधी खारिद गर्न सक्ने अवस्था अस्पतालको नरहेको अध्यक्ष रिमालले बताउनुभयो। अहिले अस्पतालको आम्दानी आन्तरिक स्रोतबाट हुने भए पनि त्यसले कर्मचारीको तलबमै खर्च हुने भएकाले अन्य सेवा विस्तार गर्न नसकिएको अस्पतालका मेसु लक्ष्मण खड्काले बताउनुभयो ।

खड्काले भन्नुभयो  “हामीले बिमाका बिरामीलाई निरन्तर सेवा दिइरहेका छौं, तर बिमाबाट भुक्तानी नआउँदा अब अस्पताल सञ्चालनमै संकट आउने अवस्था रहेको छ।”

बाग्मती प्रदेश सरकारले गत आर्थिक वर्ष २०८१–८२ मा अस्पतालका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरेकोमा यस वर्ष घटाएर २८ लाख रुपियाँ मात्र उपलब्ध गराएको छ। बजेट कटौतीसँगै अस्पतालमा औषधी र उपकरण खरिदमा समस्या देखिएको अस्पतालले जनाएको छ।

आर्थिक संकटका बाबजुद पनि अस्पतालले दैनिक करिब दुईसय बिरामीलाई सेवा दिइरहेको छ। सामान्य उपचारदेखि ल्याब, एक्स–रे अर्थोपेडिक, सर्जरी ,फिजिसियन सेवा, डायलायशिस सेवा, अन्य सर्जरी र बिमा सेवा उपलब्ध गराउँदै आएको अस्पताल अबको केही महिनाभित्र आवश्यक स्रोत नपाए ल्याब र एक्स–रे सेवा पूर्णरूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ।

अस्पताल प्रशासनले प्रदेश सरकार र सम्बन्धित निकायसँग सहयोगको अपेक्षा गरेको जनाएको छ। आवश्यक बजेट र बिमा भुक्तानी छिट्टै नआए, दोलखावासीले स्थानीय अस्पतालमै उपचार पाउने अधिकार गुम्न सक्ने अस्पतालले जनाएको छ।