• २ असार २०८१, आइतबार

अब सेल्फी खिच्न विदेश जानु पर्दैन : अध्यक्ष ओली

blog

शिलान्यास कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीसहितका शीर्ष नेता।

विष्णुप्रसाद पोखरेल

दमक, जेठ ९ गते। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब राम्रा र फराकिला सडक तथा आकर्षक पुल नेपालमा नै बन्न थालेकाले सेल्फी खिच्नका लागि विदेश गइरहनु नपर्ने बताउनुभएको छ। विदेशका जस्तै सडक, पुल लगायतका भौतिक संरचना नेपालमा नै धमाधम बनिरहेको जनाउँदै उहाँले यस्तो बताउनुभएको हो।

बुधबार झापाको कमल गाउँपालिकास्थित पाडाजुंगीमा पूर्व पश्चिम राजमार्गको काँकडभिट्टा लौकही सडक स्तरोन्नति योजना शिलान्यास गर्दै ओलीले मुलुकको समग्र विकासका लागि भौतिक विकास पनि प्रमुख माध्यम भएको बताउनुभयो। ‘विदेशमा गएर ठुला गगनचुम्बी भवनको अगाडि सेल्फी खिच्ने तर नेपालमा पनि किन ठुला भवन र संरचना चाहियो भनेर विरोध गर्ने परिपाटी पनि देखेको छु’, ओलीले भन्नुभयो।

नेपालमा नै विदेशका जस्ता सडक, पुल र भवन बन्ने उहाँको भनाइ छ। ‘केही समयपछि अब यहाँ बनेको सडक र पुलहरूमा सेफी खिच्न लायक बन्नेछन्’, ओलीले भन्नुभयो। 

सडकहरूको विकास र स्तरोन्नतिले विकासका धेरै आयामलाई जोड्ने ओलीको भनाइ थियो। यस  प्रकारका योजनामा सबैलाई समान रूपमा अवसर प्राप्त गराउने र आफूले पनि अवसर लिने प्रयत्न गर्नुपर्ने बताउनुभयो।

उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठले निर्धारित समयमा नै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चार लेन सडक बनाउने काम सकिने बताउनुभयो। काँकडभिट्टा–लौकही खण्ड ९५ किलोमिटर रहेको छ। यो सडक एसियाली विकास बैङ्कको सहयोगमा आगामी तीन वर्षमा सम्पन्न हुने गरी निर्माण सुरु भएको र निर्धारित समयमा निर्माण सम्पन्न गरिने उहाँको भनाइ थियो।

सबै ठेक्काको निर्माण अवधि तीन वर्ष र निर्माण सम्पन्न पछि थप ६ वर्षसम्म मर्मतसम्भार कार्य सोही निर्माण कम्पनीबाटै गराउने व्यवस्था गरिएको सो अवसरमा जानकारी गराइएको थियो। २०८० साल कार्तिक २ गते निर्माण सम्झौता भएको र २०८३ माघ १९ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ।

एमाले अध्यक्ष पूर्व प्रधानमन्त्री ओली मंगलबारदेखि झापामा रहनुभएको छ। नेकपा (एमाले) झापाका सचिव तुलसी कार्कीका अनुसार विभिन्न योजनाको शिलान्यास र उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुन ओली बिहीबारसम्म झापाको दमक रहने कार्यक्रम तय भएको छ।