• १७ असार २०८१, सोमबार

छुट्टाछुटै दुर्घटनामा एकै गाउँका तीनसहित चारको मृत्यु

blog

धीरेन्द्रप्रसाद साह

राजविराज, वैशाख १० गते । सप्तरीमा शनिबार छुट्टाछुट्टै दुर्घटनामा एकै गाउँका तीन जनासहित चार जनाको मृत्युभएको छ । तीन जनाको मोटरसाइकल दुर्घटनामा र एक बालकको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

पूर्व–पश्चित हुलाकी राजमार्गअन्तर्गत जिल्लाको राजगढ गाउँपालिका–५ मलेकपुरस्थित शनिबार मोटरसाइकल दुर्घटनामा परी एक गाउँका तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका– ३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र २८ वर्षीय बुच्चु भन्ने रंजित यादवको मृत्यु भएको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

हुलाकी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.१–०२४१ प.२२९६ नम्बरको र सोही दिशाबाट जाँदै गरेको प्र.१–०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको उहाँले बताउनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो । 

यसैगरी, जिल्लाको बलान बिहुल गाउँपालिका ५ रामनगर टोल बस्ने रबिन्द्र यादवको छ वर्षीया छोरी अनुषाकुमारी यादवको स्थानीय धर्मनाथ यादवको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।