• १२ साउन २०८१, शनिबार

विद्यालयको जग्गा खाली गर्न चलाइयो डोजर

blog

कैलालीको सुखडस्थित राष्ट्रिय माध्यामिक विद्यालयको जग्गामा बनेका घर तथा टहरा डोजरको प्रयोगबाट हटाइदै । तस्बिरः चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी (कैलाली), जेठ ४ गते ।
 कैलालीको घोडाघोडी नगरपालिका १ सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो जग्गा खाली गराउन शुक्रबारदेखि डोजर प्रयोग गरेको छ । विद्यालयको जग्गा भाडामा लिएर बस्दै आएकाहरूलाई पटक–पटक जग्गा खाली गर्न विद्यालय प्रशासनले ताकेता गर्दा पनि खाली नभएपछि स्थानीय प्रहरी प्रशासन, नगरपालिकाको समन्वयमा डोजरको प्रयोग गरी विद्यालयको जग्गा खाली गराउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले बताउनुभयो ।

विद्यालयको जग्गामा संरचना नै बनाएर व्यापार व्यवसाय तथा बसोबास गर्नाले विद्यालय प्रयोजनका संरचना निर्माणमा कठिनाइ भएपछि पटक–पटक जग्गा खाली गराउन सूचना जारी गरेको थियो ।

२०७५ सालमा सुदूरपश्चिम प्रदेशकै एकमात्र नमुना विशेष विद्यालय सञ्चालनका लागि उक्त विद्यालयमा सरकारको ठुलो योजना परेको भए पनि विद्यालयको जग्गा खाली नहुँदा हालसम्म संरचना निर्माण हुन सकेको छैन । दुई निगाह आठ कट्ठा जमिनमध्ये हाल आठ कठ्ठामा बसेकाहरूलाई खाली गरी उक्त जग्गामा विशेष विद्यालय  बनाउने निर्णय विद्यालय व्यवस्थापन समितिले यसअघिनै गरेको जनाइएको छ ।

अध्यक्ष हमालले विशेष विद्यालय निर्माणका लागि दुई करोड ५३ लाख रुपियाँ रकम खातामा झरेको भए पनि विद्यालयको जग्गाखाली नहुँदा उक्त योजना अगाडि बढाउन नसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पटक–पटक जग्गा खाली गर्न सूचना जारी गरिएको हो, अटेरी भयो । हिजो सर्वपक्षीय बैठकबसी डोजर लगाएर हटाउने निर्णय भए अनुसार डोजर प्रयोग गरिएको हो । जसले हटाउन समय मागेर इलाका प्रहरी कार्यालयमा निवेदन दिएको छ उसलाई समय दिन्छौ, बाँकी हटाउँदै जाने हो ।”

विद्यालयलय जमिन खाली गर्न  गत माघ ९ गते ३५ दिने सूचना जारी गर्दै क्रमशः २१ दिने, ७ दिने हुँदै ७२ घण्टे सूचना जारी गर्दासमेत खाली गर्न अन्तिम उपायका रूपमा डोजर प्रयोग गर्नु परेको विद्यालयका निमित्त प्रधानाध्यापक रामप्रसाद गौतमले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकलगायत स्थानीय व्यापारीहरू संरचना हटाउने कार्यमा खटिएका थिए ।

कतिपय बोसवासीले डोजर चल्न थालेपछि जग्गा खाली गर्न सहमति भएको तर केही समय दिन आग्रह गरेका थिए ।

घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले लामो समय सरकारी विद्यालयको जग्गामा संरचना बनाई बसेकाहरूले जग्गा खाली गर्न आह्वान गरेको सूचनालाई बेवास्ता गर्दा डोजर चलाउन बाध्य हुने अवस्था आएको बताउनुभयो । उहाँले विद्यालयको विकासको काममा स्थानीयले साथ दिनुपर्ने बताउनुभयो ।

विद्यालयको जमिनमा २२ वर्षदेखि स्थानीयले भाडामा व्यापार तथा बसोबास गर्दै आएका छन् । सुखड बजारको आधाभन्दा बढी जमिन विद्यालयको नाममा रहेको छ । राष्ट्रिय माध्यमिक विद्यालयको नाममा रहेको दुई निगाह आठ कठ्ठा जमिनमा २०५८ सालदेखि व्यापारीहरूले मासिक भाडा विद्यालयलाई बुझाउनु पर्नेगरी सम्झौता गरी भाडामा दिएको थियो ।

तत्कालीन सम्झौता गरेर जग्गा भाडामा लिएकाहरूले उक्त जग्गा अकैलाई बेचेकोसमेत विद्यालयले जनाएको छ । पक्की संरचना बनाएर बसोबास गरेका तथा व्यापार व्यवसाय गरेका धेरैजसोले लामोसमय भाडा नतिरेको रेकर्ड विद्यालयमा छ ।

विद्यालयको रेकर्डमा एक करोड ३७ लाख ९० हजार ११८ रुपियाँ भाडा उठ्न बाँकी छ । एउटै व्यक्तिले छ लाख,चार लाखसम्म भाडा तिर्न बाँकी रहेको रेकर्डमा उल्लेख छ ।