• ७ मंसिर २०८१, शुक्रबार

बदलिँदो नाम

blog

दीपक श्रेष्ठ

 उटा प्रेम प्रसङ्गमा रोमियोलाई जुलियटले सोध्छिन् “नाममा के छ ? के हामीले गुलाफलाई अरू नै नाम दियौँ भने त्यसको सुगन्धमा केही फरक पर्छ ?” 

विलियम शेक्सपियरकृत ‘रोमियो एन्ड जुलियट’ मा नामले पहिचानमा केही फरक नपार्ने तर्क अगाडि सारिएको छ । यद्यपि नेपाली समाजको दुई पुस्ताअघिका नाम केलाउने हो भने नाममा विशेष अर्थ, मान्यता र संस्कृतिको प्रभाव पाइन्छ । नाममा धार्मिक एवं सांस्कृतिक अर्थ प्रस्टै भेटिन्छन् । हाम्रै नेताका नाम हेरौँ न : विश्वेश्वरप्रसाद अर्थात् ईश्वर, विश्वनाथ । पुष्पलाल अर्थात् फूल । गणेशमान अर्थात् एक देवता । गिरिजा अर्थात् हिमालय पर्वतकी पुत्री, पार्वती । मातृका अर्थात् आमा, जननी, तन्त्रशास्त्रअनुसार सातवटी देवी । मनमोहन अर्थात् मन अर्थात् इच्छा र मोहनको अर्थ कृष्ण । मदन अर्थात् रतिको पति, कामदेव । महेन्द्र अर्थात् महान् इन्द्र । कृष्णप्रसाद अर्थात् विष्णुको दस अवतारमध्ये आठौँ अवतार लिएर गोकुलमा जन्मिएका द्वापरयुगका महापुरुष जसलाई केशव, गोविन्द, जनार्दन, माधव, मुरलीधर, मुरारि, वासुदेव, श्याम इत्यादि नामले समेत पुकारिन्छ ।

चार शहीदको नाम हेरौँ न, गङ्गालाल, दशरथ, धर्मभक्त र शुक्रराज । यी नाम कुनै न कुनै रूपले हिन्दु धर्म र संस्कृतिसँग सम्बन्धित छन् । लक्ष्मीप्रसाद, भरतमणि, कृष्णचन्द्र, हरिबहादुर, आङदोर्जे, मिङ्मा ग्याल्जेन, तुम्ला, नानीशोभा, नानीहिराजस्ता नामले नेपाली समाजको एउटा समयको प्रतिनिधित्व गर्दछन् । 

नाममा के छ ? कसैले मात्र व्यक्ति बुझ्ने वा परिचयको अर्थमा यसको उत्तर खोज्लान् तर नाममा धेरै कुरा छ । यसले समय, संस्कृति, परम्परा, बासथलो, जन्मको अवस्था आदिको प्रतिनिधित्व गरेको हुन्छ । माथि उल्लेखित नामलाई हेर्दा तिनमा धर्म छ, संस्कृति छ, परम्परा छ, जातिगत पहिचान छ । त्यसै कारण एक प्रकारले नाम व्यक्तिको पहिचान पनि हो, परम्परा र संस्कृति पनि हो । 

हिन्दु, बौद्ध, इस्लाम सबै धर्मावलम्बीले धार्मिक पहिचानसहितका नाम राख्ने गरेको पाइन्छ । 

समाजमा नाम राख्ने आफ्नै खाले संस्कार र प्रचलन छन् । हिन्दु, बौद्ध, इस्लाम र क्रिस्चियन समुदायमा जन्म संस्कार फरक फरक भएजस्तै नाम राख्ने प्रचलन समेत पृथक् पाइन्छ । नेपाली समाजमा आदर्श पुरुष÷महिलाका नामबाट समेत शिशुको नाम राख्ने प्रचलन छ ।

  

हिन्दु समाजमा न्वारानका बेला शिशुको नाम राखिन्छ । जन्म समय, नक्षत्रको पाउ छुट्याएर नाम राख्ने प्रचलन छ । न्वारानको नाम गोप्य राख्ने र प्रचलनका लागि अर्को नाम राख्ने आमपरम्परा पनि रहेको छ । यसरी लोकप्रसिद्ध नाम परिवार, आफन्त, गुरु वा पछि स्वयं राख्ने गरिन्छ । 

बौद्धमार्गीहरूको पनि न्वारानमा नाम राख्ने प्रचलन छ । तामाङ जातिमा जन्मबारका आधारमा नाम राख्ने गरिन्छ । आइतबार जन्मिए ङ्हेमा, सोमबार जन्मिए दावा, मङ्गलबार–मिङ्मार, बुधबार–लाग्पा, बिहीबार–फुर्वा, शुक्रबार–पासाङ र शनिबार–पेमा राख्ने प्रचलन छ । नामका पछाडि छोरा भए दोर्जे र छोरी भए डोल्मा या छिरिङसमेत जोड्ने चलन छ । 

नामसँगै जोडिएर आउने ‘मिडिलनेम’ ले समेत नेपाली समाजको जातीय अवस्थालाई बोध गराउँछ, वंशजको निरन्तरतालाई पहिचान दिन्छ । राणा परिवारमा अहिले पनि शमशेर, राणा र जङ्गबहादुर राणा (जबरा) प्रस्टै देखिन्छ । नामपछाडि ‘प्रसाद’ भए ब्राह्मण भनेरै चिनिन्छ । ‘बहादुर’ र ‘सिंह’ भए क्षेत्रीलगायत अन्य जाति भनेर थाहा पाइन्छ । ‘दास’ लेख्ने मधेशवासीले ‘बहादुर’ लेखेको पाइँदैन । नेपाली नामका पछाडि कुमार, कुमारी, माया, राम, लाल, दास, मान, नाथ, सिं, सिंह, दत्त, चन्द्र, कान्त, ध्वज, विक्रम, शरण, जित, राज, रमण, केशरी, जङ्ग, कृष्ण, नारायण, दोर्जे, ग्याल्पो, डोल्मा, छिरिङलगायत नामले मूल नामलाई मिठासपूर्ण बनाउन, अर्थ प्रस्ट पार्न अझ मद्दत गरेको हुन्छ । 

नामले नै जानकारी पाइन्छ फलानो व्यक्ति कुन धर्मावलम्बी हो । आशिफ अर्थात् शाहसी, अब्दुल हमिद अर्थात् सधैँ प्रशंसित, आलम अर्थात् संसार, यी नामले मुस्लिम समुदायको व्यक्ति हो भनेर प्रस्टै बताउँछ । 

हिसिला अर्थात् हँसिली प्यारी केटी, इता अर्थात् तेलको दियो, मतिना अर्थात् प्रेम, निभा अर्थात्् सूर्य किरण । नेपाल भाषाको यस नामले नेवारी समाजको प्रस्टै सङ्केत गर्दछ । 

अर्थात् नेपाली नामले नेपाली सामाजिक विविधता, संस्कृति र समाजलाई प्रस्टै बताउने गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति एवं संस्कृति विभाग प्रमुख डा. जगमान गुरुङ भन्छन्, “नाम अर्थपूर्ण हुनुपर्छ । नाम संस्कार र संस्कृति पनि हो तर मान्छेले पछिल्लो समय यसमा त्यति वास्ता गरेका छैनन् । जसले गर्दा हामी पहिचान गुमाउँदै गएका छौँ ।”

उपकुलपति डा. जगमानकै नाम राख्ने विषयमा रमाइलो कथा छ । उनी जन्मनुअघि नै मावली हजुरआमाले जगमान नाम जुराइदिएकी रहिछन् । संस्कृतिविद् डा. गुरुङले जानकारी दिए, “मेरी आमाको नाम जोगमाया हो । म गर्भमा आएपछि मावली हजुरआमाले छोरा भए जगमान छोरी भए जगमाया नाम राख्ने घोषणा गर्नुभएछ । त्यसरी मेरो नाम जगमान हुन गयो ।”

डा. जगमानको बुझाइमा प्रचलित नाम राख्ने विषय आफ्नो मात्र बसमा हुँदैन । परिवारका अन्य सदस्य र आफन्तले पनि नाम जुराइदिन्छन् । कतिपय अवस्थामा विद्यालयमा शिक्षक र आफैँले पनि नाम जुराउने गर्छन् । विद्यालयको रजिस्टे«सन फाराम भर्ने बेलामा समेत धेरै बालबालिकाको नाम परिवर्तन हुने गरेको छ । 

छोरा र छोरीको प्रचलित नाम राख्दाको घटना स्मरण गर्दै डा. गुरुङले भने, “जेठो छोराको नाम गाउँकै एक आफन्तले राखिदिए, राजेन्द्र । अर्को छोरा गर्भमा रहँदा श्रीमतीले सेतो बाघ उपन्यास पढिछन् । त्यही उपन्यासको पात्र मन परेर छोराको नाम राखिन्, जगतजङ्ग । छोरी जन्मिए डम्बरकुमारी राख्ने योजना उनको रहेछ ।”

डा. गुरुङका छोरीको नाम स्मृति र श्रुति हो । नातिको नाम प्रणवजङ्ग गुरुङ भए पनि नातिनीको नामचाहिँ सारा राखिएको छ । उनी भन्छन्, “नाम राख्ने भन्ने कुरामा ‘कम्प्रमाइज’ पनि गर्नुपर्ने रहेछ ।” 

पञ्चायतकालमा रेडियोमा सुन्ने गरिएको धर्मदत्त उपाध्याय र शंङ्करकान्त जोशी नामबाट आफू धेरै प्रभावित भएको स्मरण गर्छन् उनी । नामकै सन्दर्भमा वीरजङ्गध्वज कार्की क्षेत्री र शाहबहादुर शाहको नाम उनलाई ‘युनिक’ लाग्छ । 

अहिले छोटा नाम मन पराउन थालिएको र नामकरणमा विदेशी एवं आधुनिकताको प्रभाव भएको बुझाइ उनको छ । 

डा. गुरुङ भन्छन्, “नाम पनि अर्थपूर्ण हुन्छ । नामले मानिसको व्यक्तित्वसमेत झल्काउँछ ।”

समय बदलिएको छ । सूचना र प्रविधिको तीव्र विकाससँगै हरेक समाज विश्वव्यापीकरणको 

चङ्गुलमा छ । विश्व समाजको नक्कल गर्नमा विस्तारै हाम्रो समाज अभ्यस्त बन्दै गएको देखिन्छ । जसको प्रभाव हाम्रा सन्तानका नाममा समेत देखिएका छन् । कमल र सीताका छोरीको नाम क्रोसेना र कस्मिना भएको छ । तिलकको छोरीको नाम रेविका भएको छ । नन्दलालको छोरी न्यान्सी । पत्रिकामा छापिएका कुनै समवेदना विज्ञापनलाई हेर्दा पनि नामकरणमा आएको ठूलो परिवर्तनलाई सजिलै बुझ्न सकिन्छ । स्थानीय हजुरआमाको निधनको समवेदनामा हजुरआमाको संस्कृति र परम्परासँग जोडिएको नाम देखिन्छ तर वंशको हाँगा फिँजिँदै गएर नाति पनातिसम्म पुग्दा नाममा यात अङ्ग्रेजीकरण भएको हुन्छ या उच्चारण र सम्झना गर्न पनि गाह्रो हुने नाम हुन्छन् । 

 समाजशास्त्री निर्मला ढकाल भन्छिन्, “विश्वव्यापीकरण र समाजमा आएको परिवर्तनको यो सङ्केत हो । मानिसको सोचाइमा आउने परिवर्तनका कारण यस्तो भएको हो ।”

हिजोको समाज आत्मनिर्भरताको थियो । अहिले अध्ययन र रोजगारीका लागि विदेश पुग्नुपर्ने अवस्था छ । मानिस समुदायसँग मात्र एक्लै जोडिएर बस्दैन, बस्न सम्भव पनि छैन । त्यसैले उसलाई सर्वस्वीकार्य नाम चाहिएको छ । त्यसकै खोजीमा पछिल्लो समय नाममा परिवर्तन आइरहेको ठम्याइँ समाजशास्त्री ढकालको छ ।

तर नामकै कारण पहिचानमा समस्या नआउने उनको तर्क छ । 

पछिल्लो समय बाबु र आमाको पहिलो अक्षर जोडेरसमेत नाम खोज्ने गरिन्छ । जसले गर्दा कहिल्यै नसुनिएका, नजानिएका नाम निस्कन सक्छन् । जुन नाम ‘युनिक’ र अन्यभन्दा पृथक् समेत हुन्छ । मानिसको खोजी पनि यस्तो छ, आफ्ना सन्तानको नाम युनिक होस् । समाजशास्त्री ढकाल भन्छिन्, “त्यसैले हरेक नाममा अर्थ पनि हुँदैन । हुनुपर्छ भन्ने पनि छैन । फरक नाम, युनिक नाम ।”

नेपाली समाजमा मात्र होइन विश्वमै पहिचानको आन्दोलन पनि छ । विदेशमा बस्ने नेपालीले आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउन थालेका छन्, आफ्नो संस्कृति सिकाउन थालेका छन्, उनीहरू साहित्यमा पहिचान खोज्दैछन् । यति मात्र होइन संस्कृति र भाषामा पहिचान चाहिएको छ, लवाई–खवाईमा पहिचानको खोजी छ, नाम र ठाममा पहिचान जोडिनु परेको छ । 

होइन भने ‘बम्बै’ फेरि ‘मुम्बई’ कसरी हुन्थ्यो, ‘मद्रास’ कसरी ‘चेन्नई’ भयो र ‘कलकत्ता’ कसरी ‘कोलकाता’ भयो ?– समाजशास्त्री ढकाल भन्छिन्, “परिवर्तन एकै रूपमा जाँदैन । एउटा निश्चित ठाउँमा पुगेपछि परिवर्तनले पनि स्वरूप बदल्छ । त्यो स्वरूप नेपाली समाजमा पनि देखिने छ ।”