• २९ माघ २०८२, बिहिबार

राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सङ्गठन प्रमुख भट्टराई पक्राउ

blog

नारद कोहार

तौलिहवा(कपिलबस्तु), माघ २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका कपिलबस्तुका सङ्गठन प्रमुख रिखिराम भट्टराई साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उहाँलाई व्यक्तिगत सामाजिक सञ्जाल फेसबुकमा राखी घृणा वा द्वेष फैलाउने कार्य तथा गोपनियता भङ्ग गरेको आरोपमा पक्राउ गरेको हो ।

बाणगङ्गा नगरपालिका-८, धनेषपुरका रिखीराम भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैँक कारोबारको कागजातहरू आफ्नो फेसबुक मार्फत सार्वजनिक गर्नुभएकाे थियाे । गत माघ २६ गते भट्टराईले आफ्नाे फेसबुकमा सो कागजातहरू सार्वजनिक गरेपछि प्रहरीले उहाँलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले बताउनुभयो ।

उहाँलाई कपिलवस्तु नगरपालिका वडा २ मा पक्राउ गरिएको हो । भट्टराईले यसअघि पनि पटकपटक फेसबुक मार्फत व्यक्तिको चरित्र हत्या गरेको प्रहरीले जनाएको छ । भट्टराईमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । 

जिल्ला अदालत कपिलवस्तुबाट दिन ०३ दिन म्याद थप गरी अनुसन्धान कार्य भई रहेको उहाँको भनाइ छ ।