नवराज नेपाली
बागलुङ (गलकोट), माघ २९ गते । बागलुङमा भएको स्कूल भ्यान दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका –१ रामरेखादेखि रातामाटातर्फ जाँदैगरेको न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग ३ च ८६२१ नम्बरको भ्यान आज दुर्घटना भएको थियो ।
दुर्घटनामा अमन बोहोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । दुर्घटनामा घाइतेको संख्या २५ पुगेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनालाई मणिपाल अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा रेफर गरिएको धौलागिरी प्रादेशिक अस्पताल बागलुङले जनाएको छ । आयुष बोहरा, आयान बोहरा, निकित किसान, सोलुमन रसाइली, सुजल छन्त्याल, संगम किसानलाई पोखरा रेफर गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट किरण तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम बोहरा, उमंग किसान, सुमित गैरे, अनिस बोहराको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै अनन्या किसान, रोशनी बोहोरा, सान्वी किसान, सुप्रिया किसान, शिव किसान, समिक्षा गैरे, सेमुल थापा, निश्मा खड्का, वीरवहादुर थापा मगर र सारिका बोहराको पनि धौलागिरी अस्पतालमा उपचार भइरहेको तिवारीले जानकारी दिनुभयो । भ्यान मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको थियो ।