• २९ माघ २०८२, बिहिबार

शान्तिका लागि पदयात्रा : २८ भिक्षु हेटौँडामा

blog

विश्व शान्तिको कामना गर्दै पैदल यात्रामा निस्किएका बौद्ध भिक्षु । तस्बिर : अनिल पराजुली ।

अनिल पराजुली 

हेटौँडा, माघ २९ गते । विश्व शान्तिको कामना गर्दै पदयात्रामा निस्कनुभएको बौद्ध भिक्षुको टोली बिहीबार हेटौँडा आइपुगेको छ । २३ जना बौद्ध भिक्षुसहितको टोलीलाई हेटौँडाको कर्रा चोकमा नेपाल मगर बौद्ध सेवा समाज मकवानपुर र हेटौँडा प्रज्ञा महाविहारसहित स्थानीयवासीले स्वागत गरेका छन् ।

थाइल्यान्डको वाट थाम्पाइ विहारका प्रमुख भिक्षु आचान सुफित रम्क्षीत धम्मोको नेतृत्वमा रहेको सो टोली बुद्ध जन्मस्थल लुम्बिनीसम्मको पैदल यात्रामा रहेको छ । पदयात्रामा थाइल्यान्डका १५, भारतका चार, नेपालका तीन र लाओसका एक जना बौद्ध भिक्षु सहभागी हुनुहुन्छ । यस्तै स्वयंसेवकका रूपमा थाइल्यान्डका दुई, भारतका तीन र नेपालका एक गरी छ जना रहनुभएको अखिल नेपाल भिक्षु महासङ्घका केन्द्रीय सदस्य भिक्षु मेधङ्कर स्थविरले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले दैनिक २५ देखि ३० किलोमिटर पैदल यात्रा गर्दै आएको छ ।

भारतको आसाम र त्रिपुरा हुँदै नेपाल प्रवेश गरेको यो टोली गएराति बाराको अमलेखगन्जमा बास बसेको थियो । बिहीबार हेटौँडा आइपुग्नुभएका भिक्षुहरूका लागि हेटौँडास्थित प्रज्ञा महाविहारले आवासको व्यवस्थापन गरेको विहारका अध्यक्ष प्रेम शाक्यले जानकारी दिनुभयो । टोली शुक्रबार बिहान मकवानपुरको मनहरीतर्फ प्रस्थान गर्ने छ ।

टोली मनहरीबाट भण्डारा, नारायणगढ, कावासोती, दुम्कीबास, खैरेनी, बुटवल र भैरहवा हुँदै लुम्बिनी पुग्ने कार्यक्रम छ । विश्व शान्तिको कामना गर्दै फेब्रुअरी १० तारिखदेखि रौतहटको गोल्मराज बुद्ध विहारबाट सुरु भएको पदयात्रा फेब्रुअरी २२ मा कपिलवस्तु पुगेर समापन हुने छ ।