निशा राई
धरान, फागुन २१ गते । सुनसरी–१ मा प्रतिनिधि सभा सदस्यका लागि मतदान सुरु भएको छ। धरान उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदान गर्नुभएको छ।
अध्यक्ष राईले धरान–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रबाट बिहान ८ बजे मतदान गर्नुभएको हो। उहाँले मतदान बिहान ७ बजेदेखि सुरु भएको र केही समयपछि आफूले मतदान गरेको जानकारी दिनुभयो।
त्यसैगरी, सुनसरी–१ बाट नेकपा (एमाले) का उम्मेदवार टिकाराम लिम्बूले धरान–१० स्थित पञ्चायत माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्यप्रसाद भट्टराई (मनोज) ले धरान–१७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको छ।
सुनसरी–१ भर उत्साहपूर्वक मतदान भइरहेको छ। जिल्ला निर्वाचन अधिकारी दिव्यराज अधिकारीका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा समयमै मतदान सुरु भएको छ। मतदानका लागि बिहान ७ बजेदेखि नै कतिपय केन्द्रमा मतदाताहरू लाइनमा बसेका थिए।
सुनसरी–१ मा कुल १ लाख ५० हजार ३ सय ९३ जना मतदाता रहेका छन्। प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि यहाँ ४१ वटा मतदान स्थल र १६१ वटा मतदान केन्द्र तोकिएका छन्।
सुनसरी–१ अन्तर्गत धरान उपमहानगरपालिकाका सबै २० वडा, वराहक्षेत्र नगरपालिकाका ५ वडा र रामधुनी नगरपालिकाका २ वडा पर्दछन्।