• २१ फागुन २०८२, बिहिबार

मुस्ताङमा शान्तिपूर्ण र उत्साहपूर्ण मतदान सुरु

blog

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, छोसेरको दिव्यदीप माविको मतदान केन्द्रमा पहिलो मतदान गर्दै मतदाता कर्म नाम्ङग्यल गुरूङ। तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन २१ गते ।
मुस्ताङमा बिहानैदेखि शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा मतदान सुरु भएको छ। मतदान केन्द्रमा मतदाताको उपस्थिती विस्तारै बढ्दै गएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ।

मतदान केन्द्रमा ज्येष्ठ नागरिक, महिला र अशक्तलाई प्राथमिकता दिइएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “चिसो भएकाले मतदाता विस्तारै केन्द्रमा आइरहनुभएको छ। मौसम सफा छ र मतदातामा उत्साह देखिएको जानकारी सबै स्थानबाट आएको छ।”

शान्तिपूर्ण, निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्न मतदान केन्द्र वरिपरि सुरक्षा कडा बनाइएको छ। उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड–१ स्थित मराङ आधारभूत विद्यालयमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको मतदान अधिकृत कुलप्रसाद आचार्यले बताउनुभयो।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता खटिनुभएका मतदान अधिकृत राजेश गुप्ताले मतदाता केन्द्रमा मतदानका लागि आउने क्रम बढेको जानकारी दिनुभयो। ३९ मतदाता रहेको उक्त केन्द्रमा गाउँका मतदाताहरू केन्द्र वरिपरि रहेकाले मतदान पूरा भएपछि मतपेटिका सदरमुकाममा ल्याइने उहाँको भनाइ छ।


जिल्लाका पाँचवटै स्थानीय तहमा रहेको ३९ मतदान केन्द्रमा निर्वाचन सम्पन्न गराउन सुरक्षा जनशक्ति, स्वयंसेवक, मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगीहरू मापदण्ड अनुसार परिचालित छन्। जिल्लाभर मतदान सकिएपछि साँझसम्म मतपेटिका सदरमुकाम जोमसोम ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुस्ताङमा नेपाली कांग्रेसबाट योगेश गौचन थकाली, नेकपा एमालेबाट इन्द्रधारा डाढु विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट ङुटुक गुरूङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकाली, आम जनता पार्टीबाट अजय विक, मङ्गोल नेसनल अर्गनाइजेसनबाट यमबहादुर गुरूङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमला लालचन र उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन उम्मेदवार रहेका छन्।

जिल्लामा एक निर्वाचन क्षेत्र रहेको छ। थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा कुल ११,३२८ मतदाता छन्।