• २९ माघ २०८२, बिहिबार

बाँदर धपाइदिने दललाई भोट

blog

फाइल तस्बिर

बाबुराम शर्मा 

दोलखा, माघ २९ गते । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि अरूको भन्दा कर्णप्रिय, जमिन र आकाशभेदी विकासे सङ्कल्पसहित घोषणापत्र बनाउन व्यस्त राजनीतिक दललाई माटो खेलाएर जीविका चलाउनुपर्ने मतदाताले यस पटक फरक सर्त अघि सारेका छन् । विभिन्न जिल्लामा बाँदर आतङ्ककै कारण बस्ती उठीवास र खेतीपाती बन्द गर्नु परिरहेको अवस्थामा दोलखाको तामाकोशी नदीतटीय क्षेत्रका मतदाताले बाँदर धपाइदिने दल र उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् । 

बिगु, गौरीशङ्कर, कालिञ्चोक, वैतेश्वर, तामाकोशी, मेलुङ, शैलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकाको तल्लो भेगमा खेतबारीमा बाँदरले खेती सखाप पार्दा किसान आतङ्कित छन् । न बाँदर मार्न पाइन्छ न त नियन्त्रण गर्ने उपाय नै काम लागेको छ । यो अवस्थामा किसानले बाँदर धपाइदिने प्रतिबद्धता गर्ने दललाई मात्र भोट दिने भीमेश्वर नगरपालिका–४, जिलुकी पीडित चन्द्रकुमारी बुढाथोकीले बताउनुभयो । 

उहाँका अनुसार बाँदर सृजित समस्या सदाका लागि न्यूनीकरण गर्ने घोषणापत्र लिएर आउने दललाई मात्र भोट दिने बाँदर आतङ्कपीडतबिच सहमति भएको छ । आफ्ना थोरै जग्गामा लगाएको अन्नबाली पनि बाँदरको हुल आएर नष्ट पार्ने समस्याले आफू भोकभोकै हुनुपर्ने भएकाले चिन्ता बढेको स्थानीयको गुनासो छ । बारीमा लगाएको अन्नबाली भित्र्याउन पाइँदैन । बाँदरबाट बाली जोगाउन मुस्किल पर्छ । दिनहुँ गोठालो लाग्दा अरू काम गर्न पाइँदैन । निकै समस्या परेका मेलुङ गाउँपालिका–७ का कर्ण खड्काले बताउनुभयो । उहाँले भन्नुयभो, “१७ वर्षको सैन्य सेवाबाट अवकाश लिएर गाउँ फर्केर कृषि खेतीमा लागे तर के गर्नु खेती भित्र्याउन नपाई बाँदरले सखाप पारिदिन्छ ।”  त्यसो त उहाँले मात्र होइन, वडा नं ७ का २२ वटा टोलका किसानले बाँदर आतङ्क भोगिरहेका छन् । उनीहरूको पनि भोट दिनेबारे यस्तै सहमति भएको छ ।

कालिञ्चोक गाउँपालिकामा बाँदर आतङ्कबाट किसान गाउँबाटै विस्थापित हुने अवस्था आएपछि किसानलाई बाँदर धपाउने यन्त्र बाँडिएको थियो तर त्यसले पनि काम गरेन । यसको समाधान गर्नेलाई मात्र यसपालिको भोट दिने किसानले बताएका छन् । 

खेतबारीबाट धपायो, घरमा आउने र पकाएको भातको कसौँडी नै लिएर जाने गरेका घटनासमेत छन् । । भात खाएर कसौँडी छाडेर हिँड्छ । पहिला मकै खाने गरेको बाँदरले अहिले आलु, केराउ, बकुल्ला, प्याज, लसुनसमेत पनि बाँकी नराखेको गुनासो पीडित चन्द्रकुमारीको रहेको छ । 

उहाँले भन्नुभयो, “बन्दुक जस्तो मेसिन वडावासी सबैका निम्ति भन्दै नगरपालिकाले दिएको थियो । पहिले पहिले त्यो मेसिन पड्काएको ठुलो आवाज सुनेर बाँदर भाग्थ्यो तर अहिले त बाँदर चलाख भएको हो कि क्या हो, भाग्नै छाड्यो । बन्दुक जस्तो मेसिन दिने मात्र काम भयो तर बाँदर गाउँबाट टाढा भएन । आतङ्क जहीँको तहीँ रह्यो ।”

अर्का पीडित उमेश घतानीले भन्नुभयो, “स्थानीय सरकार बनेको पनि करिब साढे तीन वर्ष बितिसक्यो तर समस्या ज्युँका त्युँ छन् । अहिले उनीहरूभन्दा माथिल्लो तहमा पुग्न खोजिरहेका उम्मेदवारलाई यी समस्या समाधान गर्न एकै स्वरमा माग गरेका छौँ । विश्वास दिलाउन सक्ने दललाई मात्र भोट दिन्छौँ ।”

पीडित कृष्णकुमारी लामिछानेले भन्नुभयो, “नयाँ सांसद चुन्ने बेला आएको छ । जल्दोबल्दो समस्या बनेको बाँदर हटाइदिनेलाई चुन्ने हो । जसले बाँदर भगाउने वाचा गर्छ, उसैलाई भोट दिने हो । यो एक जनाको मात्र समस्या होइन, पूरै जिल्लाको समस्या हो । जिल्ला पूरै एक हुन्छौँ ।”