गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २७ गते । बहुआयामिक, सादगी जीवनशैली र निष्ठावान् राजनीतिज्ञ सुशील कोइरालाले २०७२ असोज ३ गते संविधान घोषणा गर्दा साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुभयो । ‘हलिउडको नायक बन्ने’ बाल्यकालको सपना पूरा नभए पनि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति कोइरालाले नेपालको संविधान घोषणाका लागि नायकत्व प्रदान गर्नुभयो ।
सात दशकसम्म नेपाली जनताको बलिदानी पूर्ण सङ्घर्षपछि संविधान सभा २०६४ बाट संविधान निर्माण हुन नसकेपछि संविधान सभा २०७० को निर्वाचनबाट प्राप्त नयाँ जनादेशका आधारमा संविधान सभाले झन्डै दुई वर्षपछि तत्कालीन प्रधानमन्त्री कोइरालाकै अटल, दृढ र साहसिक अठोटकै प्रतिफल ‘नेपालको संविधान २०७२’ जारी भएको हो ।
उहाँले २०७० माघ २८ देखि २०७२ असोज २४ गतेसम्म प्रधानमन्त्रीको जिम्मेवारी समाल्नुभएको थियो । उहाँ विसं १९९७ साउन २८ गते जन्मिनुभएको हो । उहाँ देशलाई संविधान दिएर सोही वर्ष २०७२ माघ २५ गते ब्रह्मलीन हुनुभयो । नेपाली कांग्रेसले पूर्वसभापति कोइरालाको सम्झना गर्दै पार्टी कार्यालयमा उहाँको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेको छ । सभापति गगनकुमार थापाले पूर्वप्रधानमन्त्री एवं पूर्वसभापति सुशील कोइरालाको योगदानले सबैलाई संविधानको प्रभावकारी कार्यान्वयनतर्फ दृढ प्रतिबद्ध रहन प्रेरणा दिइरहेको बताउनुभएको छ । उहाँले सबैलाई समन्वय गर्दै संविधान जारी गराउन सफल नेता कोइरालाप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।
संविधान संशोधन बहस र कोइरालाको सम्झना
पूर्वप्रधानमन्त्री कोइरालाले देशमा भएको लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चामा रहेर नेतृत्व प्रदान गर्नुभयो । उहाँको जीवन निष्ठा पारदर्शी र अनुकरणीय रह्यो । राजनीतिज्ञ एवं अन्तर्राष्ट्रिय कानुनका ज्ञाताले पनि पूर्वप्रधानमन्त्री कोइरालाको राजनीतिक जीवन ओजपूर्ण रहेको र संविधानको सबल कार्यान्वयन र संशोधनको कार्यभार पूरा गरेर राष्ट्रलाई निकास दिएमा मात्रै उहाँको बलिदान, अठोट एवं सपना साकार हुने बताएका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री मुक्ताकुमारी यादव, नेकपा (एमाले) का पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेपाली कम्युनिस्ट पार्टीका नेता दीनानाथ शर्मा र अन्तर्राष्ट्रिय कानुनका ज्ञाता वरिष्ठ अधिवक्ता प्राडा गान्धी पण्डितले संविधान घोषणा गर्दा प्रधानमन्त्रीका रूपमा साहसिक निर्णय लिएको बताउनुभयो । उहाँहरूले संविधान निर्माण भएको एक दशक भएकाले संशोधनका लागि विमर्श आरम्भ गर्नुपर्ने पनि बताउनुभयो । सहमहामन्त्री यादवले संविधान घोषणा गर्न नायकत्व प्रदान गर्ने पूर्वप्रधानमन्त्री कोइरालाको राजनीतिक जीवन कांग्रेससँगै सबै राजनीतिक दलका निष्ठावान् कार्यकर्तामाझ प्रेरणादायी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “संविधान संशोधनको बहस भइरहेका बेला जेनजी आन्दोलन भयो । यससँगै सबै आन्दोलनमा उठेका मुद्दालाई सम्बोधन गर्न संविधान संशोधन गर्ने र देशलाई अग्रगामी बाटोमा अघि बढाएमा मात्रै पूर्वप्रधानमन्त्री कोइरालाको सपना साकार हुने छ ।” एमाले पूर्वउपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पूर्वप्रधानमन्त्री कोइरालाले लोकतन्त्र स्थापना, देशलाई समृद्ध बनाउने, स्थायी शान्ति र जनताको अधिकार स्थापित गर्ने संविधान जारी गर्न महìवपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंहसहित धेरै नेताले योगदान गर्नुभएको छ तर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि सुशील कोइरालाको योगदान विशिष्ट छ ।”
उहाँले नेता कोइरालाको साहसका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा गर्न सम्भव भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान सभाको निर्वाचनपछि समाजवादको लक्ष्य बोकेको संविधान हामीले पायौँ, यो एउटा ऐतिहासिक उपलब्धि हो र यसमा सबै नेपालीले गर्व गर्नु पर्छ । उहाँप्रतिको सच्चा श्रद्धाञ्जली भनेकै उहाँको भावनालाई आत्मसात् गर्दै यो संविधानलाई सबै मिलेर कार्यान्वयन गर्नु हो ।”
नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री दीनानाथ शर्माले संविधानलाई प्रभावकारी कार्यान्वयन गर्दै समाजवादको लक्ष्यमा पुग्ने लक्ष्य राख्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक परिवर्तन र संविधान निर्माणका लागि पूर्वप्रधानमन्त्री कोइरालाको अठोट ऐतिहासिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक आन्दोलनमा लाग्ने सबैको इतिहास बन्दैन । नेतृत्व गरेर देशलाई निकास दिने व्यक्ति नै राजनेताका रूपमा स्मृतिमा रहन्छन् । सुशील कोइराला पनि ऐतिहासिक उचाइ निर्माण गरेर बिदा हुनुभयो ।” अन्तर्राष्ट्रिय कानुनका ज्ञाता वरिष्ठ अधिवक्ता प्राडा गान्धी पण्डितले सुशासनका पक्षधर, पारदर्शी जीवन र जवाफदेही राजनीतिको श्रेय पूर्वप्रधानमन्त्री कोइरालालाई जाने बताउनुभयो । उहाँले राजनीतिक रूपान्तरण र संविधान निर्माणका पक्षमा नेता कोइरालाको योगदानलाई इतिहासले सम्मान गर्ने बताउनुभयो । उहाँले संविधान संशोधनमार्फत देशलाई नवीनतम यात्रामा अघि बढाएमा मात्रै नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । उहाँले भन्नुभयो, “देशले अहिले रूपान्तरण खोजेको छ । नयाँ लक्ष्यका साथ समुन्नति पथमा अघि बढ्ने दृढता हामी सबैले लिनु पर्छ ।”