• १३ साउन २०८१, आइतबार

पालिका अध्यक्षसहित १४ को राजीनामा

blog

सलिम मिया
बिजुवार (प्युठान),  वैशाख ९ गते ।
स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार हुन प्युठानका जनप्रतिनिधिहरुले राजीनामा दिने सिलसिला सुरु भएको छ । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा पार्टीले टिकट दिने पक्का भएपछि उम्मेदवारी दिन जनप्रतिनिधिहरुले राजीनामा दिन थाल्नुभएको हो । जिल्लाका दुई पालिका अध्यक्ष, वडाअध्यक्षसहितका सदस्यहरुले राजीनामा दिनुभएको छ ।

सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मा र गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले पदवाट राजीनामा दिनुभएको हो । विश्वकर्मा नेकपा एमाले प्युठानका जिल्ला उपाध्यक्ष र गिरी नेपाली काँग्रेसका सभापति हुनुहुन्छ ।

उहाँहरुले पालिका उपाध्यक्षलाई राजीनामा पत्र बुझाउनुभयो । सरुमारानीमा पालिका अध्यक्षसहित ती जना वडाअध्यक्ष र पाँच जना वडासदस्यले राजीनामा दिनुभयो । विश्वकर्मालाई नेकपा एमालेले सरुमारानी पालिकामा अध्यक्ष उठाउने भएको छ । सरुमारानीमा गठबन्धनले काँग्रेसलाई अध्यक्ष दिएको छ । उहाँले गठबन्धनका संयुक्त उम्मेदवार मुकुन्दराज पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।

सरुमारानीमा अध्यक्ष, उपाध्यक्ष र चारवटा वडा एमालेले जितेको थियो । त्यस्तै, २ वटा वडा काँग्रेस र माओवादी केन्द्रको पोल्टामा परेको थियो ।

त्यस्तै, प्युठान नगरपालिकामा दुईजना वडाअध्यक्ष र दुई जनावडा सदस्यले पदबाट राजीनामा दिनुभएको छ । पुनः उम्मेदवार हुन चाहनेले सार्वजनिक पदबाट राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ ।