• १३ साउन २०८१, आइतबार

कार्ययोजना कार्यान्वयन नहुँदा व्यापार घाटा उच्च

blog

लक्ष्मी सापकोटा

काठमाडौँ, वैशाख ९ गते । निर्यात प्रवद्र्धन गर्ने र व्यापार घाटा न्यूनीकरण गर्ने उद्देश्यले तयार पारिएका रणनीति र कार्ययोजनाको कार्यान्वयन प्रभावकारी नहुँदा व्यापार घाटा घट्न सकेको छैन । 

वैदेशिक व्यापारमा भइरहेको उच्च घाटा कम गर्न स्वदेशी उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्नुपर्ने आवश्यकता महसुस गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आधा दर्जन रणनीति बनाएको छ तर ती योजना अहिलेसम्म पूर्ण रूपमा कार्यान्वयन आउन सकेका छैनन् । कतिपयको त कार्यान्वयनको अवधि नै सकिएको छ । 

व्यापार घाटा न्यूूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना २०७५, नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगसम्बन्धी राष्ट्रिय रणनीति २०७६, नेपालमा क्षेत्रगत राष्ट्रिय निर्यात रणनीति (हाते कागज र कागजका उत्पादन, अलैँची, चिया र कफी), नेपाल टे«ड इन्ट्रिगे्रसन स्ट्राटेजी २०७३ र नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) मुख्य कार्ययोजना हुन् । 

एनटीआईएसले पहिचान गरेका स्वदेशी वस्तुको निर्यात बढाउने लक्ष्य लिएको भए पनि निर्यात बढ्न सकेको छैन । एनटीआईएसको समयावधि सकिएकाले अहिले पुुनरवलोकन भइरहेको छ । यसमा स्वदेशी १२ वटा उत्पादन राखिएको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव चन्द घिमिरेले निर्यात प्रवद्र्धन गरी व्यापार घाटा न्यूनीकरण गर्ने कार्यविधि प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा व्यापार घाटा बढेर अहिले भयावह अवस्थामा पुुगेको बताउनुभयो । 

“व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना वाणिज्य मन्त्रालयसहित १५ वटा मन्त्रालय र निकायले कार्यान्वयन गर्नुुपर्ने हो । यसको कार्यान्वयनको अवस्था धेरै नै कमजोर हुुँदा अर्थतन्त्रलाई नकारात्मक असर पर्ने गरी व्यापार घाटा बढ्दै गएको छ,” उहाँले भन्नुुभयो, “त्यतिबेला कार्यायोजना कार्यान्वयन गरेको भए अहिलेको सङ्कटको अवस्था आउने थिएन ।” 

कार्ययोजना कार्यान्वयन र समन्वय गर्ने भूमिकामा वाणिज्य मन्त्रालय छ भने प्रधानमन्त्री कार्यालयले अन्तरमन्त्रालयको समन्वय र कार्यान्वयनमा सहयोग गर्नुपर्छ । पूर्वसचिव घिमिरेले कार्ययोजना तयार भए पनि वणिज्य मन्त्रालयको नेतृत्व परिवर्तन हुँदा यस विषयले प्राथमिकता नपाएको बताउनुभयो । 

व्यापारविज्ञ रविशङ्कर सैँजूले व्यापार घाटा न्यूनीकरण गर्ने रणनीति दस्तावेजका रूपमा राखिएको र सरोकारवाला निकायबीच समन्वय नहुँदा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

स्वदेशी उत्पादन वृद्धि गरे आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न सकिने धारणा व्यक्त गर्दै उहाँले यसका लागि सरकारले तयार गरेका रणनीति र कार्यनीतिको समसामयिक समीक्षा र पुनरवलोकन हुनुपर्ने बताउनुभयो ।

पुनरवलोकन हुँदै कार्ययोजना

हाल भएका रणनीति कार्यान्वयन नगरी मन्त्रालयले फेरि व्यापार घाटा न्यूनीकरणसम्बन्धी कार्ययोजनाको पुनरवलोकन गर्न लागेको छ । विलासिताका वस्तुको आयात नियन्त्रण गर्न कार्ययोजना पुुनरवलोकन गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका सहसचिव गोविन्द कार्कीले नेपालमा उत्पादन गर्न सकिने वस्तुको उत्पादन बढाएर आयात कम गर्ने तथा निर्यात बढाएर व्यापार घाटा कम गर्ने भनेर कार्ययोजना पुनरवलोकन गर्न लागेको जानकारी दिनुुभयो । कार्ययोजना परिमार्जन गर्ने कुराले सरकारी निकाय अथवा आयात निर्यातमा लाग्ने मान्छेलाई सक्रिय बनाउन सकिने उहाँको भनाइ छ । 

मुलुकमा तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक वस्तु तथा सेवाको विकास गर्ने, निर्यात प्रवद्र्धन गर्न कषि तथा औद्योगिक उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्न व्यापार घाटा न्यूनीकरण कार्ययोजनाको लक्ष्य थियो तर प्रभावकारी रूपमा कार्ययोजना कार्यान्वयन नहुुँदा व्यापार घाटा बर्सेनि बढ्दै गएको छ । 

नौ महिनामा ११ खर्ब घाटा

भन्सार विभागको तथ्याङ्कअनुुसार चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म १३ खर्ब आठ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपियाँको वस्तु तथा सेवा आयात हुँदा एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपियाँको निर्यात भएको छ । आयात बढ्दै गएअनुसार निर्यात बढ्न नसक्दा व्यापार घाटा बढेर ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख ९० हजार रुपियाँ पुुगेको छ । 

धेरै आयात हुने वस्तुको सूचीमा पेट्रोलियम पदार्थ सबभन्दा माथि छ । निर्यातमा भटमास र पाम आयल पहिलो रहेका छन् । कुल निर्यातमा यी दुई वस्तुको हिस्सा ५० प्रतिशत रहेको छ ।