• १६ असार २०८१, आइतबार

सौगात र पुरन सेमिफाइनलमा

blog

वीर गणेशमान सिंह बक्सिङमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख ८ गते । गण्डकी प्रदेशका सौगात कुमाल र एपीएफका पुरन राई वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गर्नुभएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित प्रतियोगिताको क्वाटरफाइनलमा सौगातले मधेश प्रदेशका अमन अली तथा पुरनले लुम्बिनी प्रदेशका निशम घर्तीमगरलाई पराजित गर्नुभयो । 

पुरुष ५२ केजीमा मधेसका मदनकृष्ण डंगोलले सुदूरपश्चिम प्रदेशका सन्दिप नाथ तथा एपीएफका प्रदीप महर्जनले बाग्मती प्रदेशका रोहित महर्जनलाई हराउँदै सेमिफाइनलमा पुग्नुभयो। पुरुष ६३ केजीमा नेपाल आर्मीका पुरन सुनुवारले बाग्मतीका मौसम राना मगर तथा लुम्बिनीका अनिल पुन मगरले सुदूरपश्चिमका महेन्द्र चन्दलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । 

बसन्तपुर डबलीमा जारी प्रतियोगिताको पुरुष ६९ केजीमा आर्मीका दानबहादुर दर्लामीले लुम्बिनीका विकास राना मगरलाई पन्छ्याउँदै सेमिफाइनल यात्रा तय गर्नुभयो । सोही तौलसमूहमा बाग्मतीका शिरीश खनालले प्रदेश १ का अभिनय राईबाट वाकओभर पाउदै सेमिफाइनलमा पुग्नुभयो । 

पुरुष ७५ केजीमा कर्णाली प्रदेशका दिलराज भण्डारीले सुदूरपश्चिमका भूपेन्द्र बिसी तथा प्रदेश १ का सनम गुरुङले गण्डकीका निसान गुरुङको चुनौती समाप्त पार्दै सेमिफाइनलमा स्थान बनाउनुभयो। पुरुष ८१ केजीमा बाग्मतीका रोशन स्याङ्तान र सुदूरपश्चिमका श्यामबहादुर महता अन्तिम चारमा पुग्न सफल हुनुभयो । रोशनले मधेशका किरण लामा तथा श्यामले गण्डकीका मनीष बिसीमाथि जित निकाल्नुभयो। पुरुष ९१ केजीमा आर्मीका गणेश प्रधानले सुदूरपश्चिमका दिनेश भट्ट तथा प्रदेश १ का प्रसिश रुचालले बाग्मतीका उमंग महर्जनलाई निराश पार्दै सेमिफाइनलमा प्रवेश गर्नुभयो । 

यसैगरी महिला ५१ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता आर्मीकी मीनु गुरुङ र लुम्बिनीकी माया खत्री केसी सेमिफाइनलमा पुग्नुभएको छ । मीनुले बाग्मतीकी अस्मिता दुवाल तथा मायाले सुदूरपश्चिमकी सोनिया शेठ्ठीलाई हराउनुभयो । महिला ५७ केजीमा नेपाल प्रहरीकी निशा तामाङले मधेशकी सुमिना खड्का तथा प्रदेश १ की सुस्मिता राईले गण्डकीकी सिमा गुरुङलाई पराजित गर्दै अन्तिम चारमा पुग्नुभयो । 

महिला ६० केजीमा एपीएफकी संगिता सुनारले प्रदेश १ की सम्झना देउलाबाट वाकओभर पाउदै सेमिफाइनलमा पुग्नुभयो ।  प्रदेश १ की नारिका राईले लुम्बिनीकी सुरक्षाकुमारी कुमाललाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गर्नुभयो । महिला ६९ केजीमा लुम्बिनीकी जुनमाया थारुले कर्णालीकी अस्मिता चन्दलाई पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गर्नुभयो । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।