• १३ साउन २०८१, आइतबार

५३ जिल्लाका एक करोड १९ लाख मतपत्र छापियो

blog

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगको कार्यालयमा मतपेटीका ओसारपसार गर्दै कामदारहरु । रासस

काठमाडौं, वैशाख ८ गते । निर्वाचन आयोगले ५३ जिल्लाका लागि मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।

आयोगले निर्वाचनका लागि बिहीबारसम्म ५३ जिल्लाका लागि एक करोड १९ लाख मतपत्र छाप्ने काम सकिएको जनाएको हो ।

नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बाँकी जिल्लाका लागि मतपत्र छाप्ने काम जारी रहेको जानकारी दिनुभयो ।

साथै उहाँले मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र काठमाडौंलगायत अन्य जिल्लामा निर्वाचन सम्बन्धित आवश्यक सामाग्री पठाइएको पनि जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ बमोजिमका पर्यवेक्षकलाई अनुमति दिने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।

जसअनुसार मापदण्ड पुगेका ४४ वटा राष्ट्रिय संस्थाका योग्यता पुगेका दश हजारभन्दा बढी पर्यवेक्षकहरुले तोकिएको मतदानस्थलमा पर्यवेक्षण गर्नेछन् ।

यसैगरी, निर्वाचन आचारसंहिता, २०७८ ले निषेध गरेका निर्वाचन प्रचार सामाग्रीको उत्पादन तथा बिक्री वितरण तत्काल बन्द गर्न पनि आयोगले आग्रह गरेको छ । यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सलाई सो अनुसारको कुनैपनि सामाग्री उत्पादन नगरी सहयोग गर्न आयोगले अनुरोध गरेको छ । 

आयोगका अनुसार स्थानीय तह निर्वाचनका उम्मेदवारले मनोनयन पत्र दर्ता दाखिला गर्दा पेश गर्नुपर्ने कागजातका विवरण सम्बन्धित सबैका लागि आयोगको वेब साइटमा समावेश गरिएको छ ।

त्यस्तै,  निर्वाचनका लागि आयोगको कार्यालयमा मतपेटीका ल्याइने काम भइरहेको पनि आयोगले जनाएको छ ।