• ७ मंसिर २०८१, शुक्रबार

भरोसा थप्दै सामुदायिक विद्यालय

blog

पछिल्ला वर्षमा सरकारी लगानीका सामुदायिक विद्यालयमा भने थामिनसक्नुको भिड देखिएको छ । उनीहरूले विद्यार्थी तान्न सञ्चार माध्यमबाट विज्ञापन गर्नु परेको छैन, भौतिक संरचना देखाएर लोभ्याउनु परेको पनि छैन । तैपनि यी विद्यालयहरूले भर्ना हुन चाहने जति सबै विद्यार्थीलाई पढाउन सकेका छैनन् । सीमित भौतिक संरचना र कर्मचारीको अभावमा चाहना भएर पनि आउने जति सबै विद्यार्थी पढाउन नसकिएको विद्यालयको भनाइ छ । सिकाइ उपलब्धि र नतिजा पनि राम्रो भएका कारण यस्ता विद्यालयमा विद्यार्थी आकर्षण बढिरहेको छ ।

सहरी क्षेत्रका सामुदायिक विद्यालयमा त विद्यार्थीको चाप ह्वात्तै बढेको छ । यसको प्रभाव ग्रामीण भेगका विद्यालयमा पनि बिस्तारै फैलिँदो क्रममा छ । निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरू नयाँ विद्यार्थी भर्नाका लागि अभिभावक र विद्यार्थीलाई विविध प्रलोभन देखाइरहेका छन् । घरदैलो कार्यक्रम गरिरहेका छन् । ठुला ठुला भवनको फोटोदेखि, स्विमिङ पुल, फुटसल ग्राउन्डलगायतका संरचना देखाएर विद्यार्थी लोभ्याइरहेका छन् तर चर्को प्रतिस्पर्धाका कारण केही सामुदायिक विद्यालयमा भने अभिभावकलाई आफ्ना छोराछोरीलाई भर्ना गराउन सधैँ मुस्किल पर्ने गरेको छ । निश्चित कोटाका शिक्षक र भौतिक पूर्वाधार भएकाले धेरै विद्यार्थी राख्न नसकिने भन्दै आकर्षक मानिएका विद्यालयले चाहेर पनि सबै विद्यार्थीलाई भर्ना गर्न सकेका छैनन् । 

यसको ज्वलन्त उदाहरणमध्येको एक हो, मुलुकभरि नै सबैभन्दा धेरै विद्यार्थी पढाइरहेको बुटवलको कालिका मानव ज्ञान माध्यमिक विद्यालय । अभिभावक तथा अन्य निकायका अधिकारीको दबाब थेग्न नसकिएपछि यस विद्यालयका प्राचार्य दिनेश थापा विद्यार्थी भर्नाको समयमा मोबाइल नै नलाग्ने बनाएर बस्नुपर्ने अवस्था आएको बताउनुहुन्छ । यस वर्ष कालिकाले कक्षा ४, ५, ६ र ९ मा कम्प्युटर इन्जिनियरतर्फ नयाँ भर्ना खुलाएको थियो । जम्मा ३२८ नयाँ विद्यार्थी भर्ना गर्ने भए पनि विद्यालयले लिएको प्रवेश परीक्षामा करिब तीन हजार सहभागी भएका थिए । गत वर्ष पनि तीन हजारले प्रवेश परीक्षा दिएकामा चार सय जनाले मात्रै नयाँ भर्ना पाएका थिए । यो विद्यालयमा हाल विद्यालय तहमा आठ हजार ८९ जना विद्यार्थी अध्ययनरत छन् । जुन मुलुकभरका करिब ३३ हजार विद्यालयमध्ये सबैभन्दा धेरै विद्यार्थी पढाउने विद्यालय हो । 

मुलुकभरमै विद्यार्थी सङ्ख्याको हिसाबले दोस्रो धेरै विद्यार्थी पढाउने बुटवलकै शान्ति नमुना सेकेन्डरी स्कुलमा पनि हाल छ हजारभन्दा बढी विद्यार्थी पढिरहेका छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म चार हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । जसमध्ये नर्सरीदेखि कक्षा १० सम्म मात्रै दुई हजारभन्दा बढी अध्ययनरत छन् । कक्षा ११ र १२ मा पनि दुई हजारकै हाराहारीमा विद्यार्थी पढिरहेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार चार हजार ४३५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् । 

राजधानीकै पद्मोदय माध्यमिक विद्यालय, कन्या मन्दिर माध्यमिक विद्यालय, शान्ति निकुञ्ज माध्यमिक विद्यालय, कङ्कालिनी माध्यमिक विद्यालय, ललितपुरको आदर्श शौल माध्यमिक विद्यालय, ललितपुरकै त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय, वज्रवाराही माध्यमिक विद्यालय, प्रभात माध्यमिक विद्यालय, प्रगति शिक्षा सदन तथा भक्तपुरको वागिश्वरी माध्यमिक विद्यालय, भक्तपुरकै मेधा माध्यमिक विद्यालयसहित दर्जनभन्दा बढी सामुदायिक विद्यालय विद्यार्थी आकर्षणको केन्द्र बनिरहेका छन् । 

यी विद्यालयमा कक्षा १ देखि माध्यमिक तहसम्मै भर्ना पाउनसमेत मुस्किल छ । माध्यमिक तहसम्मकै परीक्षाको नतिजा पनि उत्कृष्ट रहेको छ । प्रधानाध्यापकको नेतृत्वदायी क्षमता, सबै शिक्षक तथा कर्मचारी समूहको सहकार्य तथा विद्यार्थी केन्द्रित सिकाइ उपलब्धिका कारण यी विद्यालय सबैको आकर्षणको केन्द्र बनेको विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउनुहुन्छ । सामुदायिक विद्यालय सामूहिक प्रयत्नकै कारण विद्यार्थी र अभिभावकको मन जित्न सफल भएका हुन् । 

चुस्त व्यवस्थापन समिति र जाँगरिला शिक्षक भएका राजधानीका सामुदायिक विद्यालयले भर्खरै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) मा राम्रो प्रदर्शन गरेका छन् । समग्रमा मुलुकभरको नतिजा निजीसँगको तुलनामा सामुदायिकको केही कमजोर देखिए पनि केही विद्यालयको नतिजाले राम्रो गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । सामुदायिक विद्यालयमाथिको भरोसा बढ्न थालेको छ । कक्षा १२ को अध्ययनपश्चात् इन्जिनियरिङ, चिकित्सा, व्यवस्थापनलगायतका विषयका प्रवेश परीक्षामा पनि यी स्कुलबाट उत्पादन भएका विद्यार्थीले उच्च अङ्क ल्याइरहेका छन् ।

नयाँ भर्नाको समयमा यी विद्यालयमा हरेक वर्ष जम्मा भएका विद्यार्थीको भिडले कुनै नाम चलेका निजी विद्यालयको झल्को मेटाइदिन्छ । निजी विद्यालयले पढाउने सबै जसो विषयको पढाइ सामुदायिक विद्यालयमा हुने गरेको छ । सामुदायिक विद्यालय भन्नेबित्तिकै नाक खुम्च्याइहाल्ने अभिभावकलाई समेत यस्ता विद्यालयको सफलताको कथाले हौस्याएको छ । “विद्यार्थीको चाप थेगिनसक्नु छ । सीमित स्रोतसाधन भएका कारण चाहेर पनि हरेक वर्ष भर्ना हुन आउने सबै विद्यार्थीलाई पढाउन सकेका छैनौँ,” विश्व निकेतनका प्रधानाध्यापक कँडेल भन्नुहुन्छ, “सबै विद्यार्थीलाई राख्न नसकेर प्रवेश परीक्षा लिएर छान्ने गरेका छौँ । विद्यार्थी आकर्षण भए पनि सीमित विषयमा मात्र विद्यार्थी भर्ना लिने गरेका छौंँ ।” विश्व निकेतन, ज्ञानोदयलगायतका विद्यालयले कक्षा ११ र १२ मा साधारण धारका साथै प्राविधिक धारका विभिन्न विषयको पनि पढाइ सञ्चालन गरिरहेका छन् । 

एकातिर विद्यालय शिक्षा महँगो भयो भन्दै चिन्तित र अर्कोतर्फ सरकारी स्कुलमा राम्रो पढाइ भएन भन्दै गुनासो मात्र पोखिरहने विद्यार्थी र तिनका अभिभावकका लागि यी विद्यालय उत्कृष्ट शैक्षिक गन्तव्य बनेका छन् । विद्यार्थीमैत्री सबल शिक्षक, कक्षाकोठामा आइसिटीको प्रयोग, प्रविधिमा आधारित सिकाइ, विद्यार्थीलाई प्रश्न सोध्नका लागि शिक्षकले प्रेरित गर्ने वातावरण, कक्षाकोठामा प्रशस्त शैक्षिक सामग्रीको उपलब्धता, शिक्षक तालिमको व्यवस्था, कक्षागत रूपमा अभिभावकसँग अन्तव्रिर्mया, विद्यार्थीलाई परियोजना कार्यमा जोड, शिक्षक तालिमको व्यवस्था आदिका कारण यी विद्यालय पछिल्ला वर्ष विद्यार्थी, अभिभावक र सरोकारवालाका लागि समेत भरोसायोग्य सार्वजनिक संस्था बनेका छन् । 

हरेक वर्ष विद्यार्थी चापका कारण भर्नाका लागि प्रवेश परीक्षा लिनुपर्ने र प्रवेश परीक्षामा विद्यार्थी उत्तीर्ण गराइदिन अनुरोध गर्दै सरकारी कर्मचारीको समेत दबाब खेप्नु यस विद्यालयका लागि सामान्यजस्तै बनिसकेको छ । विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेका सामुदायिक विद्यालयको सङ्ख्या दिनप्रतिदिन बढिरहँदा यस्ता विद्यालय अन्य सामुदायिक विद्यालयका लागि समेत उदाहरणीय बनिरहेका छन् । “शिक्षकले आफ्नो जिम्मेवारी सम्झेर नियमित पढाउनु प¥यो । टिमवर्क हुनु प¥यो । व्यवस्थापन समितिलगायत विद्यालयसँग सरोकार राख्ने सबै पक्षले जिम्मेवारी राम्रोसँग वहन गरिदिनु प¥यो । विद्यालय सुधार्न अन्य नयाँ केही काम गर्नु पर्दैन,” पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण गौतम भन्नुहुन्छ, “शिक्षकले जागिरे मानसिकता त्यागेर अवसरका रूपमा लिनु पर्छ । आफू आबद्ध स्कुललाई कसरी सुधार्न सकिन्छ भन्ने भावना सबैमा हुनु पर्छ । यति गर्न सकियो भने समुदायले पनि पत्याउँछ ।”

तर राज्यले राम्रो गर्ने र नराम्रो गर्ने सबै विद्यालयलाई एकै व्यवहार गरेको छ । राम्रो गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो गर्नेलाई दण्डित गर्ने परिपाटी बसाल्न सकिए अझ सुधार गर्न सकिने शिक्षाविद्को धारणा छ । अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएका केही सामुदायिक विद्यालयकै कारण अन्य सामुदायिक विद्यालयप्रति पनि विद्यार्थी अभिभावकको विश्वास बढिरहेको छ । स्वयम् विद्यालय र शिक्षकलाई समेत हौसला प्रदान गरिदिएको छ । 

“धेरै शिक्षकले निजीमा पढिरहेका छोराछोरीलाई आफैँले पढाउने विद्यालयमा पढाइरहेका छन् । सबै सरकारी कर्मचारीले छोराछोरीलाई पनि सरकारी स्कुलमै पढाउने अभियान सञ्चालन गर्न सके यस्ता स्कुलको साख अझ बढाउन सकिन्छ,” गौतम भन्नुहुन्छ । हरेक वर्ष नयाँ भर्नाका लागि विद्यार्थी आउने गरेको भए पनि पर्याप्त भौतिक संरचनाको अभावमा आफूहरूले सबै विद्यार्थी पढाउन नसकेको उहाँको भनाइ छ । ज्ञानोदय माध्यमिक विद्यालयले भर्नाका लागि एक हजार ८५० वटा फाराम वितरण गरेको थियो तर विद्यालयले ५५० जना मात्रै नयाँ भर्ना लिएको थियो ।  काठमाडौँ महानगरपालिकाले त सामुदायिक विद्यालयका विद्यार्थीको सिकाइ स्तर उकास्न विविध कार्यक्रम नै सञ्चालन गर्दै आइरहेको छ, जसका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण हरेक वर्ष बढिरहेको छ । यस महानगरपालिकाले सामुदायिक विद्यालयहरूमा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम अन्तर्गत प्रारम्भिक बालविकास कक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीलाई एकीकृत सिकाइ गराउन थालिएको छ । कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ क्रियाकलाप हुन्छन् । कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम नियमित चलिरहेका छन् । “कक्षाकोठामा स्मार्ट बोर्डबाट सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप हुन थालेका छन् । यस्ता कारण सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको हो,” महानगरपालिकाका शिक्षा विभागका निमित्त प्रमुख सरस्वती पोखरेलले भन्नुभयो । 

तर उत्कृष्ट भनिएका र समुदायका भरोसा मानिएका यस्ता विद्यालय विद्यार्थीबाट लिइने शुल्कका कारण बेला बेलामा विवादमा पनि आउने गरेका छन् । शिक्षा ऐनले माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क हुनुपर्ने व्यवस्था गरेको छ तर शिक्षक तथा कर्मचारी अभावका कारण यस्ता विद्यालयले विद्यार्थीबाट केही शुल्क उठाएर निजी स्रोतबाट राखिएका शिक्षक कर्मचारीलाई तलब उपलब्ध गराउनु परेको दाबी गर्दै आएका छन् । विद्यार्थीबाट शुल्क लिने, प्रवेश परीक्षा लिएर राम्रा विद्यार्थी मात्रै छनोट गर्नेलगायतका व्यवस्थामा भने सुधार हुनुपर्ने आवाज उठ्न थालेको छ । 

शिक्षाविद् प्राडा विद्यानाथ कोइराला पनि केही सामुदायिक विद्यालयले समुदायकै सान बढाएको बताउनुहुन्छ । शिक्षक जाँगरिला भएका सामुदायिक विद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्ने गरेको बताउँदै उहाँ भन्नुहुन्छ, “शिक्षकको पढाउने शैली र विद्यार्थीको पढ्ने शैली मिल्यो भने विद्यार्थीको सिकाइ स्तर उकास्न कठिन हुन्न । सिकाइ स्तर बढ्यो भने विद्यार्थी आफैँ विद्यालय खोजी खोजी पढ्न आउँछन् ।”  

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।