• १७ साउन २०८२, शनिबार

विपद् व्यवस्थापनमा सहकार्य गर्दै स्याङ्जाका पालिका

blog

उद्धार सामग्री हस्तान्तरण गर्नुहुँदै प्रजिअ ईश्वरीप्रसाद अर्याल ।

राधाकृष्ण डुम्रे 

वालिङ (स्याङ्जा), साउन १६ गते । स्याङ्जामा रहेका पालिकाहरुले विपद् व्यवस्थापनमा सहकार्य सुरु गरेका छन् । जिल्लाका ११ वटै पालिकाले विपद् व्यवस्थापनको लागि पूर्व तयारीस्वरुप एक आपसमा सहकार्य गरेका हुन् । 

जिल्ला विपद् व्यवस्थापन समिति स्याङ्जाको निर्णय अनुसार पालिकाहरुले सहकार्य गर्दै विपद्को पूर्व तयारी गरेका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो ।  

समितिको बैठमा नगरपालिकाले पाँच लाख ५० हजार र गाउँपालिकालाई चार लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको थियो । जस अनुसार ३८ लाख सङ्कलन भएको थियो । पहिलो चरणमा रु २० लाखको विपद्जन्य उद्धारका सामाग्री खरिद गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । 

जिल्लास्थित चार वटै सुरक्षा निकायको सहभािगतामा विपद्जन्य उद्धार सामाग्री खरिद गर्न चेकलिष्ट तयार पारिएको थियो । सोही चेकलिष्टका आधारमा पहिलो चरणमा उद्धार सामग्री खरिद गरिएको हो ।

पालिकाहरुले सहकार्य गरेर खरिद गरेका सामाग्री जिल्ला सदरमुकामस्थित प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ । जिल्लाका एघार वटै पालिकमा छिटो उद्धार गर्न सकियोस् भनेर पायक पर्ने ठाउँमा उद्धार सामाग्री राखिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “दक्ष उद्धारकर्मीको साथमा सामग्री समयमा नै उद्धारका लागि पुर्‍याउन पायक पर्ने ठाउँमा राखिएको हो ।”

प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लामा रहेका स्थानीय सुरक्षा निकायलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।