हरिकृष्ण ऐडी
मुगु, साउन १६ गते । शुक्रवार छायाँनाथ रारा नगरपालिका २ चैन गाउँमा रहेको छायाँनाथ मन्दिरमा रहेका शिवजीको गाथ (मूर्ति) पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित जिल्लाको माथिल्लो भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका तथा साविकको डोल्फु गाविस को वनक्षेत्रमा पर्ने छायाँनाथ धामतिर लगेपछि छायाँनाथ धामको तीर्थयात्रा सुरु भएको हो ।
हरेक वर्ष श्रावण शुक्लपक्ष, अष्टमी तिथिका दिन जिल्लाको प्रसिद्ध देवता छायाँनाथ मन्दिरमा रहेको छायाँनाथ ठाकुर ज्यूको मूर्ति पवित्र तीर्थधाम छायाँनाथमा लगिएसँगै छायाँनाथ धाम तीर्थयात्रा सुरु भएको मानिन्छ ।
शुक्रबार लगिएको शिवजीको मूर्ति जनैपूर्णिमासम्म छायाँनाथ तीर्थधाममा रहने र दर्शनको लागि मुगुलगायत, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी लगायतका धामी झाँक्रीसहित तीर्थालुहरु दर्शन गर्न छायाँनाथ धाममा आउने छायाँनाथ रारा नगरपालिका वडा नँ २ का जानकारक ऐन बहादुर हमालले बताउनुभयो ।
जनैपूर्णि सम्म छायाँनाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने वरदान माग्न देशका विभिन्न जिल्लाबाट तीर्थालुको ओइरो लाग्ने गरेको छायाँनाथ मन्दिरका पुजारी असिने हमालले बताउनुभयो ।
महादेवले सतिदेवीको शवलाई घुमाउँदै लैजाने क्रममा छायाँनाथ पुग्दा सतीदेवीको अन्तिम शेष छायाँनाथमा पतन भएकाले विश्वका चारवटा धाममध्ये छायाँनाथलाई जेठो धामका रुपमा मानेर देश भरिका हिन्दु धर्मालम्बीहरुले साउन शुक्ल पुर्णिमाकाबेला दर्शन गर्न आउने, पाप कट्टा हुने र मनले सोचेको कुरा पुरा हुने विश्वासले छायानाथ दर्शन गर्न पुग्ने गरेको पुजारीहरुको भनाइ छ ।
छायाँनाथ जाने तीर्थालुहरुले श्राद्ध, होम, व्रतबन्ध र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । कोही नयाँ धामी बनेर आउने गरेका छन् भने कोही देवतालाई शुद्धी गर्ने, घण्ट, माला पवित्र बनाउन जाने गरेका छन् ।
हिन्दु धर्मावलम्बीहरुको पवित्र ४ धाममध्ये छायाँनाथ धाम सबैभन्दा उच्च स्थानमा छ ।
शुक्रबार प्रस्थान गरेको टोली अबको ९ दिन पछाडि पूर्णिमाको पछिल्लो दिनमा फर्किनेछ । यसैबिच शनिबार नवमीका दिन जिल्लामै रहेको अर्को धार्मिक स्थल ऋणमाेक्ष धाममा ३३ कोटि देवता र अप्सराका गाथ (मूर्ति) लिएर तीर्थालुहरु जाने भएका छन्। त्यहाँ पनि मुगुलगायत जिल्ला बाहिरका तीर्थालु दर्शन गरी आउने गर्दछन् ।
छायाँनाथको गाथ लिने दिन भन्दै छायाँनाथ रारा नगरपालिकाले शुक्रबार नगरभित्र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको थियो ।
साउन महिनाको पन्चमीदेखि जनै पूर्णिमासम्म छायानाथ र ऋणमाेक्ष तीर्थस्थलमा कर्णाली तथा सुदूरपश्चिमका जिल्लाहरुमा मानिदै आएका विभिन्न देवीदेवताका धामीहरुलाई शुद्ध गर्न तथा गाथको दर्शन गर्न करिब तीस हजारदेखि ४० हजारसम्म भक्तजनहरु आउने गरेको पुजारीले जानकारी दिनुभयो । छायाँनाथ तीर्थस्थल समुद्र सतहबाट चार हजार २ सयको उचाइमा छ ।