काठमाडौँ, असार ३१ गते । अध्ययनका लागि हरेक वर्ष लाखौँ नेपाली बिदेसिने गरे पनि विदेशबाट अध्ययनका लागि नेपाल आउनेहरू भने नगन्य मात्रामा छन् । मुलुकलाई शैक्षिक गन्तव्यस्थल (हब) बनाउन सकिने विषयमा सरकारी तथा गैरसरकारी संस्थाले समेत बारम्बार बताउने गरेको भए पनि व्यवहारमा देखिएको छैन । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले समेत आफ्नो कार्यकालका मुख्य काममध्ये विदेशी विद्यार्थीलाई यहाँ ल्याउने विषय प्राथमिकतामा रहेको बताउनुभएको थियो ।
उपकुलपतिमा नियुक्त भएको भोलिपल्ट नै गत बिहीबार विश्वविद्यालयको सभामा उपस्थित हुनुभएका अर्यालले विश्वविद्यालयमा अध्ययनरत कुल विद्यार्थीमध्ये न्यूनतम तीन प्रतिशत विदेशी विद्यार्थी पुर्याउने लक्ष्य रहेको बताउनुभएको थियो । यद्यपि यस विश्वविद्यालयमा अहिले कति विदेशी विद्यार्थीले अध्ययन गर्छन् भन्ने एकीकृत तथ्याङ्क छैन । मुलुकमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा धेरै भार त्रिविमा छ तर विदेशी विद्यार्थीलाई भने त्रिविले उल्लेख्य रूपमा आकर्षित गर्न सकेको छैन ।
नवनियुक्त उपकुलपति अर्याल भने नेपालको पढाइको गुणस्तरदेखि हावापानीका कारणसमेत विदेशी विद्यार्थीलाई आकर्षित गराउन सकिने प्रशस्तै सम्भावना रहेको बताउनुहुन्छ । विशेष गरी भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायतका मुलुकबाट प्राविधिक विषय पढाउन र चीनबाट अङ्ग्रेजी भाषा विषय पढ्न विदेशी विद्यार्थीलाई आकर्षिक गर्न सकिने अर्यालको बुझाइ छ । “कति सक्छु थाहा छैन तर विश्वविद्यालय सुधार्ने मेरो मुख्य एजेन्डामध्ये विदेशी विद्यार्थी तान्ने पनि एक हो,” अर्यालले भन्नुभयो ।
काठमाडौँ विश्वविद्यालय (केयु) मा भने कुल विद्यार्थीको १० प्रतिशतको हाराहारीमा विदेशी विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयका स्कुल अफ आर्ट्सका सहडिन प्राडा उद्धव प्याकुरेलले बताउनुभयो । विश्वविद्यालयले पछिल्लो पटक गत जेठ ३० गते सम्पन्न गरेको ३० औँ दीक्षान्त समारोहमा एक हजार १२९ जना विद्यार्थी दीक्षित भएका थिए जसमध्ये भुटान, भारत, श्रीलङ्का र माल्दिभ्सका समेत गरेर ११८ जना थिए । पछिल्लो समय चीनबाट आउने विद्यार्थी बढिरहेको र अबको दीक्षान्तसम्ममा कुल विद्यार्थीमध्ये १५ प्रतिशत विदेशी पुर्याउने लक्ष्य रहेको प्याकुरेलले बताउनुभयो ।
तिसौँ दीक्षान्त समारोहसम्ममा उक्त विश्वविद्यालयबाट ४७ हजार ८३१ जना दीक्षित भएकोमा पाँच हजार ६६० जना विदेशी विद्यार्थी रहेको विश्वविद्यालयले जनाएको छ । नेपालमा सबैभन्दा धेरै विदेशी विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि आउने गरेका छन् । चिकित्सा शिक्षा आयोगका अनुसार चिकित्सा शिक्षा अध्ययनका लागि हरेक वर्ष दुई सयको हाराहारीमा विदेशी विद्यार्थी आउने गरेका छन् । जसमध्ये धेरै जसो भारतीय विद्यार्थी छन् । तीबाहेक अन्य देशका विद्यार्थी पनि नेपालमा एमबिबिएस, बिडिएसलगायतका विषय पढ्न आउने गरेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।
चिकित्सा शिक्षाबाहेक चीनबाट आउने विद्यार्थीले अङ्ग्रेजी शिक्षा, विकास अध्ययन (डेभलपमेन्ट स्टडिज), इन्जिनियरिङ विषय पढिरहेका छन् । त्यस्तै केयुमा अमेरिका, जाम्बिया, दक्षिण अफ्रिकालगायतका मुलुकबाट आउने विद्यार्थीको क्रम पनि बढिरहेका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयमा पनि केही विदेशी विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालका अनुसार विदेशी विद्यार्थी बढाउने विश्वविद्यालयको नीति भए पनि सोचे अनुसार काम हुन नसकेको बताउनुभयो । विदेशी विद्यार्थी बढाउन अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सम्पर्क बढाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।
जानकारका अनुसार नेपाललाई शैक्षिक हब बनाउन सकिने सम्भावना प्रशस्तै छन् । “हामीले जसरी पर्यटनको कुरा गरिरहेका छौँ । त्यसरी नै तयारी गर्ने हो भने शिक्षामा झन् राम्रो प्रगति गर्न सक्छौँ,” केयु स्कुल अफ आर्ट्सका सहडिन प्याकुरेलले भन्नुभयो, “त्यसका लागि नेपालका विश्वविद्यालय तथा कलेजको भौतिक पूर्वाधारदेखि नीतिगत परिवर्तन आवश्यक छ ।”
के छ समस्या ?
अहिले विशेष गरी विदेशी विद्यार्थी नेपालमा पढ्न आउन प्रवेशाज्ञाको समस्या देखिएको छ । विद्यार्थी भिसाबाट नेपाल आउन पाइँदैन । भिजिट भिसामार्फत नेपाल आएर छ महिनापछि विद्यार्थी भिसामा परिवर्तन गर्नुपर्ने हुन्छ । विदेशीले त्यसरी भिजिट भिसामार्फत नेपाल आएर पछि भिसा परिवर्तन गर्नुपर्ने झन्झटका कारण पनि विदेशी विद्यार्थीलाई विकर्षण गराइरहेको छ ।
तर विदेशी विद्यार्थीलाई सहजै नेपालमा पढ्ने वातावरण बनाउन सरकारले नीतिगत सुधारलगायतका काम गर्न लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताउनुभयो । विदेशी विद्यार्थीलाई आकर्षित गरेर नेपाललाई शैक्षिक हब बनाउनु पर्छ भन्नेमा सरकार पनि दृढ रहेको बताउँदै सापकोटाले त्यसका लागि विश्वविद्यालयले आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो ।