गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २३ गते । व्यावसायिक घराना चौधरी समूह (सिजी ग्रुप) ले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका प्रत्येक सहिद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ । गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै यस्तो घोषणा गर्नुभएको हो ।
उहाँले आन्दोलनका सहिदप्रति उच्च सम्मान व्यक्त गर्दै आन्दोलनका प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने जानकारी गराउनुभएको हो । “आन्दोलनका सहिदप्रति चौधरी ग्रुपका तर्फबाट हार्दिक श्रद्धाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान व्यक्त गर्दछौँ,” उहाँले लेख्नुभएको छ, “यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो ।”
उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, सोरुम र कारखानामा भएको ठुलो क्षति र विध्वंस भएको थियो । यो क्षतिले आफूहरूलाई गहिरो पीडा दिएको भए पनि पीडादायी घडीमा पनि दृढ आत्मविश्वाससाथ पुनर्निर्माणको यात्रामा अघि बढेको बताउनुभएको छ ।
“हामीसँगै उभिने छौँ, पुनर्निर्माण गर्ने छौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सुन्दर र उज्ज्वल भविष्य निर्माण गर्ने छौँ,” चौधरीले भन्नुभएको छ ।
रोजगारी प्रदान गर्ने कार्यका लागि गु्रपको टिमले सम्पूर्ण सहिद परिवारलाई सम्पर्क गर्दै गरेको र यसका लागि कम्पनीका संस्थागत सञ्चार विभाग प्रमुखसँग पनि सम्पर्कमा आउन अनुरोध गर्नुभएको छ ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा चौधरी निवासमा तोडफोड भएको थियो । त्यस्तै चौधरी समूहको सतुङ्गलस्थित सिजी पार्कमा तोडफोड लुटपाट तथा आगजनी गरी ध्वस्त पारिएको थियो ।
त्यस्तै ग्रुप अन्तर्गतको थापाथलीस्थित सिजी अटोको सोरुममा पनि आगजनी भएको थियो । यस्तो क्षति भए पनि समूहले आफ्नो व्यवसायलाई बलियो रूपमा पुनस्र्थापित गर्न लागिरहेको जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा सरकारले घोषणा गरेका सहिदका परिवारका प्रस्तावित सदस्यको योग्यता र क्षमताका आधारमा रोजगारी प्रदान गरिने सञ्चार विभाग प्रमुख मधुसूदन पौडेलले जानकारी दिनुभयो ।
“घोषित सहिदका परिवार सदस्यको योग्यता क्षमताका आधारमा उच्चतम तहसम्मै हामी रोजगारी दिने हाम्रो तयारी छ,” उहाँले भन्नुभयो,“ हाम्रो प्रधान कार्यालय तथा मातहतका विभिन्न औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा हामीले ससम्मान रोजगारीमा आबद्ध गर्ने छौँ ।”