• २३ असोज २०८२, बिहिबार

जर्मनीले पौने सात अर्बको सहयोग गर्ने

blog

सम्झौतामा हस्ताक्षर

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २३ गते । नेपालको विद्युत् पूर्वाधार स्तरोन्नति र स्वास्थ्य, कृषि, सुशासन तथा समावेशी विकासको क्षेत्रमा जर्मन सरकारले चार करोड १० लाख युरो (करिब छ अर्ब ७६ करोड रुपियाँ) सहायता प्रदान गर्ने भएको छ । यसका लागि वित्तीय र प्राविधिक सहयोगसम्बन्धी दुई सम्झौतामा बुधबार हस्ताक्षर भएको छ ।

नेपालको ऊर्जा, स्वास्थ्य, कृषि, सुशासन तथा समावेशी विकासका प्राथमिकतालाई सहायता गर्ने गरी सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारका तर्फबाट काठमाडौँस्थित नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले हस्ताक्षर गर्नुभयो । 

वित्तीय सहयोग सम्झौता अन्तर्गत जर्मन सरकारले विद्युत् वितरण सबलीकरण परियोजनाका लागि दुई करोड युरोसम्मको सहायता प्रतिबद्धता जनाएको छ । “सो परियोजना नेपालको विद्युत् वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुने छ,” अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाल विद्युत् प्राधिकरणमार्फत कार्यान्वयन हुने यस परियोजनाले देशभर भरपर्दो र प्रभावकारी विद्युत् सेवा सुनिश्चित गर्ने छ ।” पाँच वर्षभित्र सम्पन्न हुने यस कार्यका लागि नेपाल विद्युत् प्राधिकरण र जर्मन विकास बैङ्कबिच कार्यान्वयन सम्झौता पनि हुने जनाइएको छ ।  प्राविधिक सहयोग अन्तर्गत दुई करोड १० करोड युरोसम्मको अनुमानित प्रतिबद्धतासहित जर्मनीले लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीतिका लागि स्वास्थ्य प्रणालीमा गुणस्तरीय पूर्वाधारलाई थप स्तरीय बनाइने उल्लेख छ । 

त्यस्तै कृषि तथा निजी क्षेत्र विकासमा, समावेशी र जलवायु उत्थानशील आर्थिक विकासलाई प्रवर्धन गर्ने ग्रेप कार्यक्रमलाई पनि यसमा समावेश गरिएको छ । त्यस्तै दिगो विकासमा योगदान पु¥याउने गरी सुशासन, राजस्व क्षेत्र सुधारमा आधारित परियोजना अघि बढाइने अर्थ मन्त्रालयले जनाएको छ । यस प्राविधिक सहायता सम्झौताको कार्यान्वयनसमेत पाँच वर्षभित्र अर्थात् ६ सेप्टेम्बर २०२९ सम्म सम्पन्न हुने उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले जर्मनीको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यी सम्झौताले नेपाल–जर्मनी सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिविम्बित गर्ने र समावेशी तथा दिगो विकासप्रतिको साझा प्रतिबद्धता दर्साउने बताउनुभयो । उहाँले जर्मन सरकार तथा जर्मन जनतालाई नेपालको सामाजिक तथा आर्थिक विकासमा पु¥याएको दीर्घकालीन सहकार्य र महत्वपूर्ण योगदानप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । 

नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत उडो भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको बताउनुभयो ।