यामराज बिष्ट
पञ्चकोशी (दैलेख) असोज २३ गते । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले नगरपालिकाका सबै विषयमा लगाइएको आरोपमाथि छानबिन गर्न चुनौती दिनुभएको छ । उहाँले नगरपालिकाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नारायण नगरपालिकामा बेरुजुको विषयलाई लिएर सिङ्गो संस्था र व्यक्तिमाथि लगाइएको भ्रष्टाचारको आरोप लगाएको भन्दै सो विषयमा छानबिन गर्न चुनौती दिनुभएको हो ।
उहाँले नगरपालिका माथि लगाएको आरोप असत्य रहेको भन्दै पूर्वाग्राही रूपमा बदनाम गराउने उदेश्यले काम मात्र भएको टिप्पणी गर्नुभयो । उहाँले आफूहरूले निर्वाचन पश्चात् अघिल्ला सरकार चलाएकाहरूका बेलादेखिको बेरुजु फर्छ्योट गर्ने कामलाई थप प्रभावकारी बनाउँदै करिब तीन करोड बढी बेरुजु रकम मिलान गरेको बताउनुभयो ।
उहाँले झुटा प्रचार गरेर व्यक्तिगत चरित्रमाथि समेत आँच आउनेगरि समाचार प्रकाशन र प्रसारण गरेको भन्दै नारायण नगरपालिकाका सबै विषयमा छानबिन गर्न चुनौती दिनुभएको छ । उहाँले सुरुममा म बाट सम्पत्ति छानबिन हुनुपर्ने त्यसपछि नारायण नगरपालिकाका जनप्रतिनिधिहरूको छानबिन हुनुपर्ने गल्ती भए कारबाही भोग्न तयार भएको बताउनुभयो । उहाँले अनावश्यक झुटा प्रचार गरेर चरित्र हत्या गर्ने छुट कसैलाई नभएको बताउनुभयो ।
उहाँले आ.व२०८० र८१को मलेपको प्रतिवेदनमा एक करोड ९० लाख बेरुजु भएको, त्यसमा कुनै पनि निर्वाचित जनप्रतिनिधिहरूबाट असुल गर्नुपर्ने बेरुजु नभएको बताउनुभयो । नगरपालिका केहि शीर्षकमा विभिन्न प्रक्रिया नपुगेका बेरुजुहरू छन् त्यसलाई सकेसम्म बढ्दो बेरुजु घटाउने अभियानमा लागेको नगरप्रमुख शर्माको भनाइ छ ।