• १६ असार २०८१, आइतबार

च्यालेन्ज गल्फमा भुवनको एकल अग्रता

blog

सूर्य नेपाल च्यालेन्ज गल्फमा सट प्रहार गर्दै भुवन नगरकोटी । तस्बिर : एनपीजीए

काठमाडौँ, वैशाख ८ गते । सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिताको तेस्रो दिन भुवन नगरकोटीले एकल अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा जारी प्रतियोगितामा बिहीबार भुवनले ६ अन्डर ६२ खेल्नुभयो । ५४ होलको समाप्तिसँगै भुवनको कूल ११ अन्डर एक सय ९३ स्कोर छ ।

भुवनले दोस्रो स्थानमा रहनुभएका भुवन कुमार रोक्कालाई एक स्ट्रोकले पछि पार्नुभएको छ । बिहीबार दुई अन्डर ६६ खेल्नुभएको रोक्काको कूल १० अन्डर एक सय ९४ स्कोर छ । कूल नौ अन्डर एक सय ९४ स्कोरका साथ सन्जय लामा तेस्रो स्थानमा झर्नुभएको छ । अघिल्लो दिन शीर्षस्थान कब्जा गर्नुभएको लामाले बिहीबार इभनपार ६८ मा चित्त बुझाउनु भयो । दिनेश प्रजापती र दीपक थापामगर एक सय ९७ स्कोरका साथ संयुक्त चौथो स्थानमा हुनुहुन्छ । 

यसैगरी एमेच्योरतर्फ कूल ६ अन्डर एक सय ९८ स्कोरका साथ सुवास तामाङ उपाधि नजिक पुग्नुभएको छ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण विजेता सुवासले बिहीबार तीन अन्डर ६५ खेल्नुृभयो । दोस्रो स्थानमा रहन सफल सुरेस तामाङको कूल ११ ओभर दुई सय १५ स्कोर छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धाको यस प्रतियोगिताको पुरस्कार राशी पाँच लाख ४५ हजार रुपियाँ रहेको छ । 

प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन्  । प्रोतर्फ फाइनलमा पुगेका २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले आकर्षक ट्रफी हात पार्नेछन् ।