• १३ साउन २०८१, आइतबार

काठमाडौंमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

काठमाडौं, वैशाख ८ गते । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा काठमाडौं जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार सो कार्यालयको उद्घाटन गर्नुभएको हो ।

कार्यालय उद्घाटनपछि बोल्नुहुँदै मुख्य निर्वाचन अधिकृत आजबाट स्थानीय निर्वाचन २०७९ का कार्यक्रम औपचारिक रुपमा सुरु भएको प्रतिक्रिया दिनुभयो । कार्यालयबाट काठमाडौं महानगरपालिकाको निर्वाचन कार्यक्रम सञ्चालन हुनेछन् । त्यस्तै, अन्य पालिकाहरुमा पनि आजैबाट निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।

पालिकाहरुको निर्वाचन ती कार्यालयहरुबाटै सञ्चालन हुने छन् । निर्वाचन अधिकृतको कार्यालयहरुको सञ्चालन व्यवस्थापन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुनेछ ।

निर्वाचन तालिकाअनुसार वैशाख ११ बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म र १२ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म उम्मेद्वारहरुको मनोनयन दर्ता हुनेछ । वैशाख १३ विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ ।

वैशाख १४ गतेदेखि १५ गते ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिनेछ । १५ गते अपराह्न ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ ।

१६ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ । त्यसैदिन ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिनेछ ।

वैशाख २७ गते राती १२ बजेपछि मौन अवधि सुरु हुनेछ भने वैैशाख ३० गते विहान ७ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम हुनेछ ।

मुख्य निर्वाचन अधिकृत खतिवडाकाअनुसार निर्वाचन कार्यक्रम सञ्चालन गर्नु र आयोगको जारी गरेका कानुनी प्रबन्धहरुको अनुगमन गर्ने काम मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्नेछ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वच्छ निर्वाचनका लागि बैध हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको छ । कार्यालय उद्घाटनका क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो, ‘हामीले स्थानीय निर्वाचन २०७९, एकीकृत जिल्ला सुरक्षा रणनीतिक योजना बनाइसकेका छौँ । यसमा सुरक्षाका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीको भूमिका तथा म्यादी प्रहरीको परिचालन एकिन गरिसकेका छौँ ।’

मुख्य निर्वाचन अधिकृत खतिवडा, प्रमुख जिल्ला अधिकारी रिजालसहितको टोलीले आज काठमाडौंका अन्य पालिकामा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयको निरीक्षण गर्नुभयो ।