• १५ असार २०८१, शनिबार

सन्देशमूलक सिर्जनाका कलाकार सविता

blog

शिवा तामाङ

काठमाडौँ, वैशाख ८ गते । लामो कपालमा परेको लट्टा फुटाउने, छिरलिएको कपाललाई सर्लक्क पार्ने गुण काँइयोमा मात्रै हुन्छ । काँइयोले कोरेर कपाललाई अनेकप्रकारको डिजाइनमा बाट्न, जुरो पार्न तथा छोड्न सकिन्छ, जसले व्यक्तिको सौन्दर्यमा निखार आउनुको साथै अरूभन्दा भिन्न देखाउन सकिने माध्यम पनि बन्छ । 

त्यस्तै, मानिसको जीवनमा आइपर्ने समस्याको पनि समाधान हुन्छ । समस्या आइरहन्छन्, त्यसको समाधानको सेरोफेरोमै मानव जीवन घुमेको हुन्छ । दिनदिनै कोरे पनि (लामो कपाल भएमा) भोलिपल्ट फेरि लट्टा पर्छ । काँइयोले कोरेर त्यसलाई सपक्क पारेजस्तै मानिसले जीवनमा आइपर्ने समस्याको समाधान गर्दै अगाडि बढ्नुपर्छ भन्ने सन्देशमूलक सिर्जनासाथ कलाकार सविता डङ्गोलको कलायात्रा अगाडि बढेको छ । लामो, छोटो जस्तोसुकै स्टाइलको कपालमा पनि काँइयो प्रयोग गर्छौं । हामी सबैले काँइयोको दैनिक उपयोग गर्छौं तर यसमा लुकेको सन्देशप्रति कमैले ध्यान दिन्छौँ । काँइयोको विविध गुण, दोष, सन्देशको प्रस्तुतिसहित १६ वर्षदेखि निरन्तर कलायात्रामा संलग्न कलाकार डङ्गोललाई आफ्नै सिर्जनाले यस क्षेत्रमा भिन्न पहिचान दिलाएको छ ।

कलाकार सविता डङ्गोलले काँइयो, कपालसँगको बृहत् सम्बन्धलाई क्यानभासमा रङ र कुचीको माध्यमबाट आमदर्शक तथा कलापारखीमाझ पस्कँदै आउनुभएको छ । उहाँले कला विषयमा ललितकला क्याम्पसमा अध्ययन गर्दा नै कपालबारे अनेक चित्र बनाउनुभयो । कपालको महŒव र सन्देशबारे चित्र कोरिरहँदा कपालसँग काँइयोको नातालाई पनि सम्झनुभयो । कला विषयमा मास्टर्स गरेपछिको उहाँको कलायात्रा यिनै विषयवस्तु वरिपरि घुम्दै अझै गहिरो र फराकिलो बन्दै अगाडि बढिरहेको छ । आफ्नो कलायात्रा पहिले लक्ष्य नभई, केही संयोगले मात्र अगाडि बढेको बताउनुहुने ‘सविता डङ्गोल’ कलाकारको जमातमा चर्चित नाम हो । 

उहाँ कलायात्राबारे बताउनुुहुन्छ, “सुरुमा कलाकार बन्ने सोच थिएन, विश्व भाषा क्याम्पसमा अङ्गे्रजी भाषा पढ्न गएँ, जहाँ ज्ञानु महर्जन साथीले फाइन आर्टको पढाइ हुने ललितकला क्याम्पसमा जाने प्रस्ताव राखेपछि साथीको साथ लागेर ललितकला क्याम्पसमा पढियो । अहिले यही क्षेत्रमै निरन्तर लागेकी छु ।” त्यहाँ मास्टर्समा प्रयोगात्मक परीक्षामा कपालको चित्र बनाएँ । कपालसँग काँइयोको सम्बन्धलाई उजागर गर्नेक्रममा मानिसको जीवन पनि यस्तै हो भन्ने मेरो अन्तरमनले ठम्यायो । “मानिसको जीवनमा पाइला–पाइलामा समस्या आउँछ, त्यसको समाधान गर्दै अगाडि बढ्नु नै जीवन बाँच्नु हो, समस्या समाधानका लागि गरिने प्रयास र उपायसँग हाम्रो कपाल र काँइयोको कामबीच सम्बन्ध देखेँ । यही सन्देश र भावमा पछिल्लो समय मैले प्रकृति, जनावर र अध्यात्मको नाता अत्यन्त गहिरो पाएँ,” कलाकार डङ्गोल आफ्नो सिर्जनाको सन्देशबारे चर्चा गर्नुहुन्छ । उहाँले यस विषयमा पढाइको डिग्री लिएपछि बर्सेनि ‘एकल कला’ प्रदर्शनीको आयोजना गर्ने लक्ष्य राख्नुभएको थियो तर काम गर्र्दै जाँदा नभ्याइने रहेछ भन्दै आफ्नो अनुभव सुनाउनुभयो ।

डङ्गोलको हाल ‘इन्क्लिनेसन अफ सोल्स्’ शीर्षकमा सिद्धार्थ आर्ट ग्यालरीमा बृहत् कला प्रदर्शनी जारी छ । उहाँले प्रदर्शनीमा राख्नुभएको हरेक चित्रले प्रेमको सन्देश दिन्छ । साथै प्रकृति, प्रेमिल जोडी, उमा, महेश्वर, पन्छी, फूल, हिमाल, पहाडलगायत मानव र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुभएको छ । यस प्रदर्शनीमा उहाँले काठका दसवटा काँइयोमा जीवनका इन्दे्रणी रङलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नुभएको छ । दैनिक जीवनमा प्रयोग गर्ने सामग्रीका लागि काटिने कैयौँ रूखका विनाशले मानव जीवनमा पार्ने प्रतिकूल असरलाई कम गर्नुपर्छ । कोरोना महामारीका बेला रूखले निःशुल्क दिने अक्सिजन अभावमा छटपटाएको विश्वबाट उहाँका चित्र प्रेरित छन् । 

कला प्रदर्शनीमा पुग्दा प्रकृतिको विनाशलाई कम गर्दै प्रेमभावले बाँच्न कलाकार डङ्गोलको चित्रले भावुक सन्देश दिइरहेको अनुभव हुन्छ । कलाकार डङ्गोलको अनुभवमा पछिल्लो समय कलाका दर्शक बढे पनि क्रेता बढ्न सकेको छैन । यस पेसामा उहाँलाई अगाडि बढ्न कलाकार श्रीमान् इशान परियारको प्यारो साथ, सहयोग र परिवार, गुरु, अग्रज तथा समकक्षी दौँतरीले उत्तिकै हौसला प्रदान गरेको उहाँ बताउनुहुन्छ ।