• २६ वैशाख २०८१, बुधबार

सुनसरीको भोक्राहामा सुविधा सम्पन्न प्रसूति गृह निर्माण हुने

blog

सुनसरीको भोक्राहामा स्वास्थ्य चौकी परिसरमा बर्थिङ्ग सेन्टर(प्रसूति गृह) भवन निर्माणको शिलान्यास गर्दै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, वैशाख १५ गते ।
 सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ स्थित स्वास्थ्य चौकी भोक्राहा परिसरमा बर्थिङ्ग सेन्टर(प्रसूति गृह) भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।

सुविधा सम्पन्न बर्थिङ्ग सेन्टर(प्रसूति गृह) निर्माणका लागि शिलान्यास गरिएको हो । भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले प्रसूति गृह भवनको शिलान्यास गर्नुहुँदै महिलाहरूका लागि प्रसूति सेवामा सहजताका लागि काम अगाडि बढाएको बताउनुभयो ।

आजादले महिलाहरू धरान, विराटनगर र इनरुवाको अस्पताल धाउनुपर्ने बाध्यता भएकाले त्यसलाई अन्त्य गर्न स्थानीयस्तरमै विशेषज्ञसहितको सहज सेवा उपलब्ध गराउने गरी सुविधा प्रसूति गृह निर्माणका लागि शिलान्यास गरिएको बताउनुभयो ।

आजादले प्रसूति गृहबाट प्रसूति विशेषज्ञसहित स्वास्थ्यकर्मीको टोलीले नियमित सेवा प्रदान गर्ने जानकारी दिनुभएको छ । अहिले रहेको पुरानो भवनको प्रसूति गृहबाट गर्भवती महिलालाई उपलब्ध गराइने निःशुल्क सुविधाहरू नियमित गर्भवती जाँच, आइरन चक्की वितरण, धनुष्टङ्कार विरुद्धको खोप (टी.टी. खोप) र प्रसूति सेवा नियमित सञ्चालन भइरहेको बताउनुभयो । प्रसूति गृह भोक्राहा नरसिंह गाउँपालिका तथा सेभ द अर्थको संयुक्त साझेदारीमा निर्माण सम्पन्न हुने स्वास्थ्य शाखा प्रमुख हिरा साहले जानकारी दिनुभयो ।