अमृतप्रसाद पौडेल
म्याग्दी, असार २९ गते । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ मा एक सय २७ वटा योजना कार्यान्वयन भएको छ ।
गाउँपालिकाले चालु आवमा राखेका योजनाहरु कार्यान्वयन हुँदा ७९ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा ७९ दशमलव १७ प्रतिशत बजेट खर्च र शतप्रतिशत योजना कार्यान्वयन भएको हो ।
गाउँपालिकाले शनिबार मुनामा आयोजना गरेको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अर्यालले कुल ४७ करोड ६४ लाख ५८ हजार बजेट बिनियोजन भएकोमा ३७ करोड ६१ लख ४९ हजार सात सय ४३ खर्च भएको बताउनुभयो ।
पुँजीगत शीर्षकमा विनियोजन भएको १४ करोड ५७ लाख ८१ हजारमध्य ७३ दशमलव १३ प्रतिशत १० करोड ६६ लाख ११ हजार सात सय ९३ खर्च भएको उहाँले जानकारी दिनुभयो ।
महालेखाले देखाएको बेरुजु गत वर्षसम्म १३ करोड तीन लाख १६ हजार रहेकोमा यस वर्ष एक करोड ४५ लाख ५४ हजार चार सय ४३ फर्छ्स्यौट भएको, थप तीन करोड १७ लाख फर्छ्यौट भई नौ करोड २८ लाख ६१ हजारमा झारिएको गाउँपालिकाले जनाएको छ । थप छ करोड ६८ लाख बेरुजु फर्छ्यौटको तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी गराउनुभयो ।
गत वर्ष ५८ लाख आन्तरिक आम्दानी गरेको धवलागिरीले प्रभु बैंकमार्फत दुई हजार नौ सय ३८ जना लक्षित नागरिकलाई एक वर्षको अवधीमा १० करोड ५८ लाख चार हजार दुई सय ८८ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
पूर्वाधारसम्बन्धी १० वटा योजना ठेक्का र उपभोक्ता समिति मार्फत एक सय १७ वटा योजना कार्यान्वयन गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी गराउनुभयो । ठेक्का मार्फत कार्यान्वयन भएको लुलाङ– गुर्जा सडक, खिवाङ सडक, मुदी ढल, मराङ एक घर एक धारा र मच्छिम हिलापोखरी खानेपानी योजना सम्पन्न भएका छन् ।
अध्यक्षसँग दीर्घरोगी कार्यक्रममार्फत वडा स्तरमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण, अपायक पर्ने वडामा योजना सम्झौताका लागि घुम्ति शिविर सञ्चालन, जग्गा वर्गीकरण र डिजिटल प्रोफाइल तयार, व्यवसायिक मौरीपालन विस्तार, धवलागिरीको इच्छा गरिखाने शिक्षा कार्यक्रम कार्यान्वयन, कृषि यान्त्रिकरणमार्फत अनुदानमा मिनिटेलर हलो वितरण, ७५ प्रतिशत अनुदानमा मल्कवाङमा घुम्ती गोठ निर्माण भएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पूर्वाधार निर्माणसँगै सामाजिक रुपान्तरण, कृषि, पर्यटन, रोजगारी सिर्जनाका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताउनुभयो । आगामी वर्ष गुर्जामा सडक पु¥याउने, सङ्घीय सरकार मार्फत ढोरपाटनसँग सडकले जोडिएको, प्रदेश सरकार मार्फत दरवाङ–मुना सडक स्तरोन्नतिको क्रममा रहेको, प्रशासकीय भवन, ताकम अस्पताल सम्पन्न हुने चरणमा रहेको अध्यक्ष पुनले बताउनुभयो ।
कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघका पूर्व सचिव सन्तोष गौतम र जिल्ला सदस्य कमल खत्रीले गर्नुभएको थियो ।