पत्रकारिता भन्नु अक्षरको खेती मात्र होइन । यसको लामो इतिहास अनि अनेक विधा र आयाम छन् । खास गरी छापा माध्यममा पत्रिका पाठकको हातसम्म पुग्न धेरै सम्मिलनबाट मात्र सम्भव हुन्छ । पत्रिकालाई आकर्षक देखाएर पाठक लोभ्याउन मात्र नभई स्वयम् समाचार बोल्ने फोटो अर्थात् तस्बिरको अधिक महत्व छ । तस्बिरको महत्वबोध गराउन ‘हजार शब्दमा भनिएको समाचारभन्दा बढी एउटै तस्बिरले बोल्छ’ भन्ने चिनियाँ उखानै छ । यद्यपि तस्बिरलाई स्पष्ट पार्न त्यसको परिचय शब्दमा लेख्नु जरुरी छ । अब्बल तस्बिरले समाचारीय मूल्य तथा अनेक प्रश्नको उत्तर विम्बित गरेको हुन्छ । फोटो पत्रकारितामा सिप, कौशल, प्रविधि र प्रकाशको संयोग मिल्नु पर्छ । त्यसैले त भनिन्छ, फोटो पत्रकारमा जहिले पनि चीलको जस्तो आँखा, बकुल्लाको जस्तो धीरता र घोडाको जस्तो शक्ति हुनु आवश्यक छ । यतिबेला भने प्रविधिको विकासका कारण जो कोही व्यक्तिले तस्बिरकारिता गरिरहेका हुन्छन् । हातहातमा मोबाइल फोनका कारण थप क्यामेराको आवश्यकता कम हुँदै गएको सन्दर्भमा नेपालमा ‘राष्ट्रिय फोटो पत्रकारिता दिवस’ मनाउन थालिएर इतिहासको सम्मान गर्ने परम्पराले नयाँ आयाम थपेको छ ।
नेपालमा एक शताब्दीअघि डम्बरशमशेरले पहिलो पटक क्यामेरा भित्र्याएको देखिन्छ । नाट्यसम्राट बालकृष्ण समलाई त्यसै समयका अब्बल फोटोग्राफरका रूपमा गनिन्छ । पत्रिकामा प्रकाशित पहिलो फोटोका हकमा भने १९८४ साल वैशाख १३ गतेको गोरखापत्रमा ‘विविध विषय’ शीर्षकमा कपासको गुण केलाइएको आलेख प्रकाशित छ । त्यसै आलेखमा ‘श्री चन्द्र कामधेनु चर्खा प्रचारका खेती विभागद्वारा प्रकाशित कपास खेतीको साधारण सूचना’ भनी उल्लेख गरिएको छ । महिलाले चर्खामा धागो कातिरहेको तस्बिरमुनि ‘आफ्ना कपासका बगैँचामा ‘श्रीचन्द्र कामधेनुचर्खा’ द्वारा धागो कातीरहेकी, वर्ष १२ को, वीरगन्ज बस्ने सूर्यमती श्रेष्ठनी’ भनेर तस्बिरको स्पष्ट विवरण (क्याप्सन) प्रकाशित छ । यसै तथ्यलाई आधार मानेर पत्रकार महासङ्घ, फोटो पत्रकारहरूको संस्था राष्ट्रिय फोटो पत्रकार समूह र फोटो पत्रकार क्लबले विविध कार्यक्रमसहित राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालेको हो ।
पहिलो तस्बिर छापिएको पाँच दशकपछि गोरखापत्रबाटै विसं २०३० मा नेपाली फोटो पत्रकारिताको व्यावसायिकता यात्रा सुरु भएको हो । नेपाली फोटो पत्रकारिताको थप व्यावसायिक विस्तार भने निजी प्रकाशन गृहहरू खुलेपछि भयो । २०४६ सालको परिवर्तनले फोटो पत्रकारिता क्षेत्रलाई स्थापित हुने बाटो खोलिदियो । विभिन्न उद्देश्य र लक्ष्य लिएर दैनिक ब्रोडसिट, साप्ताहिक र विविध प्रकारका म्यागाजिनहरू प्रकाशित हुन थालेपछि आवश्यकता र आकर्षणको नाममा मानवीय रुचि तथा औपचारिक कार्यक्रमका दृश्य महत्वका साथ छाप्न थालेपछि विस्तार हुँदै आजको डिजिटल युगमा आइपुगेको हो ।
ऐतिहासिक तथ्य टेकेर हरेक वर्ष वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउने गरिएको हो । पत्रिकामा पहिलो फोटो छापिएको इतिहासका सम्बन्धमा केही विवाद पनि सिर्जना नभएको भने होइन । १९८३ साल साउन १८ गते सोमबार पहिलो पटक तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको जन्मदिनको अवसरमा गोरखापत्रमा फोटो छापिएको थियो । यसैलाई पहिलो फोटो मानेर इतिहास कायम गर्नुपर्ने एकथरीको आवाज भए पनि फोटो पत्रकारिताको ऐतिहासिक कालखण्डलाई जोड्दा समाचार र समाचारीय मूल्यसहितको फोटोलाई पहिलो प्राथमिकता दिने मान्यता कायम भयो । त्यसै अनुरूप वैशाख १३ गतेलाई राष्ट्रिय फोटो पत्रकारिता दिवसको रूपमा मनाउन थालिएको हो । त्यसो त सन् २०१० देखि अन्तर्राष्ट्रिय रूपमा पनि विश्व फोटोग्राफी दिवस मनाउँदै आएको विदित हुन्छ । सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफीलाई पहिलो पटक पत्रकारिताका रूपमा मान्यता दिएको दिनलाई हरेक वर्ष विश्व फोटोग्राफी दिवस मनाउन थालिएको हो ।
गोरखापत्रमा पहिलो तस्बिर छापिएको आधार मानेर सुरु भएको राष्ट्रिय फोटो पत्रकारिता दिवसलाई विशेष बनाउन गोरखापत्र संस्थानले केही वर्षअघिदेखि पुराना तस्बिरहरूको प्रदर्शनी गर्दैआएको छ । यस पटक पनि बुधबारदेखि संस्थान परिसरमै प्रदर्शनी प्रारम्भ गरिएर सर्वसाधारणलाई इतिहास अवलोकन खुला गरिएको छ । वैशाख २३ गतेसम्म हुने प्रदर्शनीमा मूलतः २०३० देखि २०६० सालसम्म गोरखापत्रका फोटो पत्रकारले खिचेका श्यामश्वेत तस्बिर प्रदर्शनीमा राखिएको हो । तत्कालीन परिवेश, जनजीवन, संस्कृति एवं ऐतिहासिक घटनाक्रमसँग सम्बन्धित तस्बिरले अवलोकनकर्ताको मन जित्ने आयोजकहरूको भनाइ छ । राष्ट्रिय फोटो पत्रकारिता दिवसका अनेक कार्यक्रमले विधागत विकासका साथै समग्र पत्रकारिताको उन्नयनमा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ ।