• २३ वैशाख २०८१, आइतबार

गण्डकी प्रदेशमा आगामी वर्ष लगानी सम्मेलन हुने

blog

आइतबार पदबहालीपछि आर्थिक मामिला मन्त्री हरिबहादुर चुमान । तस्बिरः गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, वैशाख ९ गते । गण्डकी प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले आइतबार कार्यभार सम्हाल्नुभएको छ । मुख्यमन्त्री खगराज अधिकारीले शनिबार अर्थ मन्त्रालयको जिम्मेवारी तोकेपछि मन्त्री चुमानले आइतबारबाट जिम्मेवारी सम्हाल्नुभएको हो ।

उहाँले पहिलो निर्णयका रूपमा आउँदो आर्थिक वर्ष गण्डकी सरकारले लगानी सम्मेलन गर्ने निर्णय गर्नुभएको छ । गण्डकीमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता चुमान चैत २५ गते विना विभागीय मन्त्री नियुक्त हुनुभएको थियो । 

मन्त्री चुमानले सम्मेलन गर्न मन्त्रालयका सचिव बलराम रिजालको संयोजकत्वमा सात सदस्यीय अध्ययन कार्यदलसमेत गठन गर्नुभएको छ । नयाँ सरकारले प्रदेशको नीतिगत समस्या समाधान गर्दै औद्योगिक पूर्वाधारको विकास, आर्थिक स्रोत वृद्धिका लागि आवश्यक कदम चाल्ने बताउनुभयो । 

उहाँले प्रदेशको बजेट खर्चसमेत सुधार्ने वाचा गर्नुभएको छ । “यो पटक बजेट कार्यान्वयनका लागि आवश्यक प्रयत्न गर्ने छौँ, खर्च गर्ने परिपाटीमा पनि सुधार गर्छौँ,” उहाँले भन्नुभयो, “नीतिगत समस्या समाधान गर्दै औद्योगिक विकास, पूर्वाधार विकासमा जोड दिन राजस्वको दायर फराकिलो पार्छौँ ।” 

उहाँले लगानी सम्मेलन आयोजना गर्नका लागि इन्भेस्ट गण्डकी परियोजना सञ्चालन गरिने जानकारी दिनुभयो । परियोजनामार्फत सार्वजनिक–निजी साझेदारीमा सञ्चालन हुने योजनाहरूको अध्ययन गरिने प्रष्ट पार्नुभयो । कार्यक्रममा सचिव रिजालले मन्त्री चुमानलाई मन्त्रालयको अवस्थाबारे जानकारी दिनुभएको थियो ।