• २३ वैशाख २०८१, आइतबार

मान्छे नै चिम्पान्जी बन्यो

blog

बाँदर जातिमा चिम्पान्जी धेरै नै समझदार हुन्छ । यो मानिससँग पनि चाँडै घुलमिल हुने र भनिएका कुरा पनि केही सिक्ने गर्छ । सानै छँदा मानिससँग मात्र सम्पर्क हुने गरी चिम्पान्जीलाई हुर्काइयो भने के होला ?, के त्यसले मानिसका धेरै कुरा सिक्ने छ ?, मानिससरह व्यावहारिक अन्तर्क्रिया गर्न सक्ने छ वा सम्पूर्णतया नैसर्गिक गुण लिएरै हुर्कने छ ?

पशुहरूमा चिम्पान्जीको बौद्धिकतासँग मानिस परिचत भएको धेरै समय भएको छ । अन्य पशुको तुलनामा चिम्पान्जी धेरै नै बुद्धिमान हुन्छन् । उनीहरू आफूलाई आवश्यक औजार बनाउन सक्छन्, जटिल ध्वनिद्वारा उनीहरू आपसमा संवाद गर्न सक्छन् तथा आफूलाई आइपर्ने कतिपय समस्या समाधान गर्न सक्छन् । वैज्ञानिकहरूले चिम्पान्जीलाई साङ्केतिक भाषामा दोहोरो वार्ता गर्न सिकाउनमा समेत सफलता पाएका छन् ।

वैज्ञानिक अनुन्धानबाट के देखिएको छ भने लगभग ४० लाख वर्षपहिले मानिस र चिम्पान्जीका पुर्खा छुट्टिएका हुन् । जैविक अध्ययनबाट समेत आधुनिक मानव होमो सेपियन्स र चिम्पान्जीमा १.२३ प्रतिशत मात्र जिन भिन्न रहेको देखिएको छ ।

चिम्पान्जी सामाजिक प्राणी हो तथा सहानुभूति, परोपकारिता, आत्म चेतना, समस्या समाधानमा सहयोग, उदाहरण र अनुभवद्वारा सिक्ने क्षमता यिनमा हुन्छ ।

चिम्पान्जीमा यस्तै खालका विशेषता देखेर एक पटक दुई जना मनोवैज्ञानिकले बच्चा चिम्पान्जीलाई मानिसको बच्चासँगै हुर्काएर चिम्पान्जीलाई मानिसका व्यवहार सिकाउने कोसिस गरेका थिए । कुरा सन् १९३० को दशकको हो मनोवैज्ञानिकले स्वयंको बालक डोनाल्डसँगै चिम्पान्जीको बच्चालाई राखेर परीक्षण सुरु गरे । कुरा सोचेको भन्दा ठिकविपरीत भयो । नौ महिना सँगै राख्दा चिम्पान्जीको बच्चाले मानव व्यवहार सिक्नु त कता हो कता उल्टै डोनाल्ड चिम्पान्जीको जस्तो व्यवहार गर्न थालेको थियो । डोनाल्डले नै चिम्पान्जीसरह व्यवहार देखाउन थालेपछि मनोवैज्ञानिकले परीक्षण रोकेका थिए ।

बाल्यकालमै चिम्पान्जीसँग सङ्गत भएर अस्वाभाविक व्यवहार देखाउन थालेका डोनाल्डको मानसिक अवस्था पछिसम्म राम्रो भएन । एकोहोरे र अन्तर्मुखी उनले ४३ वर्षको उमेरमा आत्महत्या गरे तर डोनाल्डसँग छुट्टिएर मर्माहत भएको चिम्पान्जी एक वर्षपछि नै मरेको थियो ।

आफ्नो छोरा डोनाल्ड केलोग १० महिनाको हुँदा मनोवैज्ञानिक विथ्रोप र लुएला केलोगले फ्लोरिडाको आफ्नो अस्थायी घरमा राखेर सात महिनाको पोथी चिम्पान्जी गुआसँगै उनलाई हुर्काउने निर्णय गरेका थिए । विनथ्रोपले बाँदरलाई मानव बनाउने बारेमा लेखेका थिए र आफ्नो छोराको जन्मलाई उनले त्यसलाई प्रमाणित गर्न सकिने अवसरका रूपमा लिए ।

छोरालाई चिम्पान्जीसँगै राखेर केलोग दम्पतीले दुवैलाई समान व्यवहार गरे । उनीहरूलाई एकै खालको लुगा लगाइन्थ्यो, एकै समयमा खान दिइन्थ्यो, एकै खालका खेलौना खेल्न दिइन्थ्यो र एकै ठाउँमा उही समयमा सुताइन्थ्यो । परीक्षण जसै जसै अगाडि बढ्दै गयो डोनाल्डले गुआको नक्कल गर्न थाले । डोनाल्डले चिम्पान्जी जस्तै आवाज निकाल्ने र चिम्पान्जी जसरी हिँड्न सिके । विस्तारै डोनाल्ड जङ्गली बच्चामा परिणत हुन थाले । गुआले डोनाल्डको नक्कल गर्ने छ र उनीबाट सिक्ने छ भन्ने अनुमान थियो तर ठिक विपरीत हुन थालेपछि परीक्षण बन्द गरियो ।

यदि आफ्नो अर्को सन्तानसरह मानेर चिम्पान्जीलाई बच्चासँगै हुर्काइयो भने उसको विकास अवरुद्ध हुनुपर्ने थियो । डोनाल्डले समेत निकै महìवपूर्ण समयमा बाँदरबाट होइन कि आफ्ना आमाबुवा, भाइबहिनी र सहपाठीबाट बोल्न सिक्नु पर्ने हो तर त्यसो केही पनि भएन । चिम्पान्जीले कहिल्यै बोल्न जानेन । बरु डोनाल्डमा धेरै ढिलो बोली फुट्यो । परीक्षणको नतिजा नै अनुमानविपरीत आएपछि डोनाल्डलाई इन्डियाना फर्काइयो र चिम्पान्जीलाई बाँदर पालन केन्द्रमा । जहाँ निमोनियाले सङ्क्रमित भएर चिम्पान्जीको मृत्यु भएको थियो । 

–युवामञ्च