• ११ कात्तिक २०८२, मङ्गलबार

उदाउँदो सूर्यलाई अर्घ दिएर वराहक्षेत्रमा छठ पर्व सम्पन्न

blog

सप्तकोशी नदीकिनारमा उदाउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धालुहरु । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की 
वराहक्षेत्र, कात्तिक ११ गते ।
अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्व विधिवत रुपमा सम्पन्न भएको छ । कात्तिक शुक्ल षष्ठिका दिन अस्ताचलमा पुगेको सूर्य र उदायमान सूर्यको पूजा गरी सूर्यलाई अर्घ दिएर मनाइने पर्व श्रद्धालुहरुले विधिवत रुपमा सम्पन्न गरेका हुन् ।

तराईवासीका बस्तीहरुमा विशेष महत्त्वका साथ मनाइने छठ पर्व मङ्गलबार बिहान  उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यो वर्षको छठ पर्व सम्पन्न भएको छ । विशेष गरी तराईमा मनाइने छठ पर्व पछिल्लो समय पहाडीक्षेत्रमा समेत मनाउन थालिएको छ ।

पन्ध्रदिनदेखि माछा, मासु नखाई, श्रद्धालुहरु वर्त वसेर सूर्यको आरधाना गरे वर्तका प्रभावले व्रतालुको मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहि आएको प्रकापुरका स्थानीय नारतमणि घिमिरे बताउनुहुन्छ ।

सूर्यलाई अर्घ दिएर मनाइने छठ पर्व पुरानो पर्वका रुपमा लिइने गरेको संस्कृतिविद् डा. सोम खतिवडा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘यसको सुरुवात वैदिक कालमा भएको पाइछ । एक आपसमा मिलेर मनाउने हुँदा समाजिक सद्भाव र एकताको पर्व मानिन्छ ।’’ 

धर्मशास्त्र अनुसार परापूर्वकालमा कुन्तीले आफ्ना गुरु दुर्वासाले दिएको मन्त्रको परिचय गर्न इष्टदेव सूर्यको उपसाना गर्दा प्रसन्न भएका सूर्य स्वयम् उपस्थित भई आफूजस्तै तेजस्वी पुत्र कर्ण दिएर उनको मनोकामना पूर्ण गरिदिएका थिए भन्ने धार्मिक विश्वास रहेको पाइन्छ । यही विश्वासअनुसार आजकाल पनि नारीहरु कात्तिक कृष्ण षष्ठीका दिन अस्ताचलमा पुगेको सूर्य र उदायमान सूर्यको पूजा गरी सूर्यलाई अर्घ दिएर आफ्ना सन्तानको सुख, शान्ति र दिगायुको कामना गर्दै सूर्यको पूजा गरिदै आएका छन् ।

नोकरी, व्यापार र अध्यानको सिलसिलामा घर बाहिर रहेकाहरु समेत एकै ठाउँ भेलाभएर परिवारिकरुपमा पर्वलाई मानाउदै आएको स्थानीय नवराज नायकले बताउनुभयो ।

पछिल्लो समय सामुहिक रुपमा छठ पर्व मनाउने प्रचलन बढ्दै गएको छ । सबै समुदायको साझा पर्वको रुपमा स्थापित हुँदै गएको छठ पर्व सद्धा पूर्वक पूजा गरे मनोकामना पूरा हुने धार्मिक र जनविश्वास रहिआएको छ ।

सुनसरीको सप्तकोसी नदी किनारमा घाट निमार्ण गरी छठ माताको आरधना गर्न तराईवासीसँगै आदीबासी जनजाती र अन्य समुदायका परिवारले समेत छठ पर्वमा उपस्थित भएर सद्भाव साटासाट गर्दै हर्षोलाषका साथ छठ माताको आरधाना गर्नु भएको छ ।