देवराम यादव
सप्तरी कात्तिक ११ गते । प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ निवासी २७ वर्षीय अभिनन्द कुमार यादव रहेका छन् । सप्तरीमा भएका विभिन्न अनलाइन ठगी घटनामा संलग्न भएको आरोपमा प्रहरीले यादवलाई पक्राउ गरेको हो ।
यादवले विभिन्न स्थानमा रहेका व्यक्तिहरूलाई फोन गरी उनीहरूको छोराछोरी अपहरणमा परेको, विदेशमा करणी मुद्दामा फसेको जस्ता निहुँ बनाई डर त्रास देखाएर १४ लाख ४० हजार रकम ठगी गर्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
२०८० माघ ६ गते मन्जु देवी शारदालाई फोन गरी छोरा अपहरणमा परेको भन्दै १२ लाख ८० हजार रुपियाँ विभिन्न बैंक खातामा जम्मा गराएर ठगी गरेको उजुरी उनीमाथि परेको थियो । त्यस्तै माघ ८ गते राजकुमारी देवीलाई पनि छोरा मलेसियामा फसेको भन्दै ६० हजार पठाउन लगाएको र थप रकम माग गरेको खुलेको प्रहरीले जनाएको छ ।
यसैगरी, मुकेश कुमार सिंहका बुवालाई छोरा अपहरणको आरोपमा पक्राउ परेको भन्दै १ लाख जम्मा गर्न लगाएको उजुरी परेको थियो । यी सबै घटनाहरूको अनुसन्धानको क्रममा फरार रहेका अभियुक्त यादवलाई प्रहरीले कात्तिक ८ गते बिहान १ः३० बजे विराटनगरस्थित उहाँको घरबाट पक्राउ गरेको बताइएको छ ।
पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीमा पेश गरेको र अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायबत्र उपरीक्षक डम्बर बहादुर पुरीकाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा पछिल्ला दिनमा यस्ता किसिमका अनलाइन ठगीका घटना बढ्दै गएकाले नागरिकहरूलाई अज्ञात व्यक्तिबाट आएका फोन कल वा म्यासेजमा विश्वास नगरी सावधानी अपनाउन समेत आग्रह गरिएको जनाएको छ ।