• १३ असोज २०८१, आइतबार

बोटानिकल आर्ट तालिम सुरु

blog

ललितपुर, वैशाख ५ गते। विज्ञान र कलाको अन्तरसम्बन्ध र महत्वलाई उजागर गर्ने उद्देश्यसहित सोमबारदेखि ‘बोटानिकल आर्ट एन्ड इलस्ट्रेसन’ तालिम सुरु भएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) अन्र्तगत महिला वैज्ञानिक फोरमको आयोजनामा नास्टमै सो तालिम सुरु भएको हो। सो तालिमको राष्ट्रिय योजना आयोगका सदस्य डा.पुष्प रमण वाग्लेले उद्घाटन गर्नुभयो। उहाँले नेपाल जैविक विविधताको देश भएकाले वनस्पतिकोको अध्ययन, अनुसन्धान र संरक्षणमा कलाको भूमिका महत्वपूर्ण हुने चर्चा गर्नुभयो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला देवी बज्राचार्यले अनुसन्धान र प्रविधिलाई जनउपयोगी केन्द्रित गर्नुपर्नेमा जोड दिदै विद्यालयको पाठ्यक्रममा नै दृष्टान्तकला (इलस्ट्रेसन) समावेश गर्नका लागि पहल गर्ने बताउनुभयो।

यस्तै, नास्टका उपकूलपति डा.सुनिलबाबु श्रेष्ठले कला र विज्ञानको अध्ययनलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, 'सिक्काको दुई पाटाजस्तै कला र विज्ञान अन्तरसम्बन्धित छन्। यिनलाई सँगसँगै लैजानुपर्छ।'

यस्तै, वानस्पतिक विषय केन्द्रित कलाकार नीरा जोशी प्रधानले वानस्पतिक कलाको महत्व, इतिहास र वर्तमान गतिविधिबारे भिडियो सामग्री प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ वनस्पतिविज्ञ डा.केशरी लष्मी मानन्धर, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका प्राज्ञ रमेश खनाल, महिला वैज्ञानिक फोरमका संयोजक डा.अन्जना सिंहले विज्ञानको अध्ययनमा कलाको महत्वबारे चर्चा गर्नुभएको थियो। दुई दिने सो तालिममा करिव १० विद्यालयका २५ विद्यार्थी सहभागी छन्।