• २१ वैशाख २०८१, शुक्रबार

हात्ती मारिएको घटनामा निष्पक्ष छानविन गर्न माग

blog

बिष्णुप्रसाद पोखरेल
दमक, वैशाख ८ गते ।
मानव–हात्तीद्वन्द्व न्यूनीकरणका लागि झापामा अभियान चलाउदै आएका अभियानकर्मीहरुले जङ्गली हात्तीहरु असुरक्षित रहेको भन्दै सुरक्षाका लागि माग गरेका छन् । मेचीनगर नगरपालिका वडा नं. १२ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलबार बेलुका मरेको अवस्थामा एउटा हात्ती फेला परेको थियो ।

संरक्षणकर्मीहरुले हात्ती मारिएको विषयमा अनुसन्धान गर्नका लागि निष्पक्ष छानविन समिति बनाउनु पर्ने वा सिआइवीले यस घटनाबारे अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउनु पर्ने माग समेत गरेका छन् ।

वर्षौदेखि झापामा हात्तीहरुको आवतजावत रहदै आएको भए पनि नियोजित रुपमा दारा र पुच्छर तस्करीका लागि हात्ती मारिएको यो पहिलो घटना भएको भन्दै यसबाट यहाँका हात्तीहरु असुरक्षित रहेको पाइएको अभियानकर्मीको भनाइ छ । जिल्लामा करेन्टको पासो लागेर करिब दुई दर्जन हात्तीहरुको ज्यान गइसकेको छ ।

मानव–हात्ती द्वन्द्व न्यूनीकरणमा सक्रिय मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले हात्तीलाई गोली हानेर मारेर दारा र पुच्छर तस्करीको विषयलाई स्थानीय प्रशासन र डिभिजन वन कार्यालय झापाले गम्भीर रुपमा लिनु पर्ने बताउनु भयो । यो गम्भीर अपराध भएकाले निष्पक्ष रुपमा छानविन हुनुपर्ने उहाँको भनाइ छ ।

झापामा रहेर हात्तीको खोज अनुसन्धान गर्दै आउनु भएका वन्यजन्तु संरक्षणकर्मी शंकर लुईंटेलले वनका पदाधिकारी तथा सरोकारवाला निकायहरु माथि पनि शङ्का गर्नुपर्ने अवस्था रहेकाले निष्पक्ष छानविन हुनुपर्नेमा जोड दिनु भयो । अहिले पनि झापाका जङ्गलहरुमा दर्जनौं हात्तीहरु रहेका छन् र तिनिहरु मारिन सक्छन् भन्नेमा उहाँले चिन्ता प्रकट गर्नु भयो ।

पोष्टमार्टमपछि हात्तीलाई गोली हानेर मारिएको पुष्टि हुँदासमेत हात्तीको मृत शरिरबाट गोली निकालेर अनुसन्धान नभएको भन्दै उहाँले आपत्ती पनि जनाउनु भयो । ‘‘गोली हानेर मारेको पुष्टि भयो तर गोली नझिकि हात्तीलाई पुरिएको छ,’’ उहाँले भन्नुभयो । गोली झिकेको भए अनुसन्धानमा ठुलो सहयोग पुग्ने उहाँको भनाइ छ ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाज अध्यक्ष देवेनकुमार खरेलका अनुसार पेशेवर तस्करले हात्ती मारेर दारा र पुच्छर लगेको करिब चार दिनपछि मात्र सरोकारवाला निकायहरुले थाहा पाउनु लज्जास्पद विषय भएको बताउनु भयो । ‘‘मरेको अवस्थामा हात्ती भेट्दा विभिन्न अङ्गहरु कुहिन थालेको थियो,’’ उहाँले भन्नुभयो । करिब चारदेखि पाँच दिन अघि नै त्यो हात्ती मारिएको हुनसक्ने उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले घटनालाई गम्भीर रुपमा नै लिएको बताउनु भएको छ । प्रहरीको सहयोगमा अनुसन्धान सुरु गरिएको पनि उहाँले बताउनु भयो । हात्तीको धेरै भित्रभागसम्म र हड्डीमा गोली लागेकाले गोली झिक्न नसकिएको उहाँको दाबी रहेको छ ।