चन्द्र पन्दाक
ताप्लेजुङ, साउन २० गते। ताप्लेजुङमा नेकपा (माओवादी केन्द्र) ले श्रमदान अभियानलाई निरन्तरता दिँदै आएको छ। सार्वजनिक तथा व्यक्तिगत स्वमित्वका काममा माओवादी केन्द्रले श्रमदान अभियान चलाई रहेको हो।
हालसम्म अधिकांस कृषिसँग सम्बन्धित काममा माओवादीले श्रमदान अभियान चलाउँदै आएको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) का अनुसार अलैँची, कोदो, धान रोप्न लगायतका काममा श्रमदान गरिँदै आएको छ। हरेक महिना एक दिन श्रमदान गर्नेगरी योजना बनाएर श्रमदान गर्दै आएको केन्द्रीय सदस्य बुढाक्षेत्रीले जानकारी दिनुभयो।
माओवादीको जिल्ला, पालिका र वडा तहका कमिटी तथा सहायक सङ्गठनको रूपमा रहेको योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल), अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)लगायत भातृ तथा जनवर्गीय सङ्गठनको अगुवाइमा श्रमदान गर्ने गरिएको छ। फुङ्लिङ नगरपालिकासहित विभिन्न स्थानीय तह र वडाहरूमा माओवादीले श्रमदान अभियान चलाउँदै आएको केन्द्रीय सदस्य बुढाक्षेत्रीले बताउनुभयो।
उहाँका अनुसार अहिलेको मौसमी काम अर्थात कृषिसँग सम्बन्धित कामहरू गरिँदै आएको छ। अभियानकै क्रममा माओवादी सम्बद्ध किसान महासङ्घ (क्रान्तिकारी) को अगुवाइमा फुङ्लिङ नगरपालिका–४ मा श्रमदानमार्फत कोदो रोप्ने काम गरिएको छ। स्थानीय भक्त येङ्देनको बारी (जमिन) मा कोदो रोपिएको हो। यस्तै फुङ्लिङ नगरपालिका–३ का देवीमाया पालुङ्वाको धान खेती लगाउने खेतमा श्रमदान गरिएको छ।
फुङ्लिङ नगरपालिका–९ की फूलमाया गुरुङको अलैँची खेतीको काममा श्रमदान गरिएको छ। किसान महासङ्घकै अगुवाइमा अलैँची खेतीअन्तर्गत एक हजार ५०० वटा अलैँचीको बिरुवा रोपिएको छ। त्यस्तै सिरिजङ्घा गाउँपालिकाको वडा ४ तेल्लोक, वडा ५ पेदाङ र वडा ६ मामाङ्खेमा वृक्षारोपण गर्न श्रमदान गरिएको माओवादी केन्द्रले जनाएको छ। पेदाङमा दुई हजार ५०० वटा, तेल्लोक र मामाङ्खेमा समान ५००–५०० वटा बिरुवा रोपिएको छ।
यस्तै फुङ्लिङ नगरपालिका–२ मा ३०० वटा र फक्ताङ्लुङ गाउँपालिकाका विभिन्न वडामा दुई हजार वटा बिरुवा रोपिएको छ। सिदिङ्वा गाउँपालिकास्थित पर्यटकीय गन्तव्य ढङढङ्गे झरना रहेको क्षेत्रमा पनि श्रमदानमार्फत वृक्षारोपण र पदमार्ग सरसफाइ गरिएको छ। व्यक्तिको स्वामित्व रहेको र विद्यालय परिसर, पदमार्गजस्ता सार्वजनिक स्थानहरूमा वृक्षारोपण गरिएको माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले जानकारी दिनुभयो।
संयोजक लिम्बूका अनुसार कागती, अमला, अम्बाक, तेजपत्ता, सिरिस र सल्ला प्रजातिका बिरुवाहरू रोपिएका छन्। हालसम्म रोपिएकामध्ये एक हजार ८०० बिरुवा पार्टीले खरिद गरेको र बाँकी डिभिजन वन कार्यालय ताप्लेजुङले उपलब्ध गराएको लिम्बूले जानकारी दिनुभयो। यता माओवादी केन्द्र ताप्लेजुङले सुरु गरेको श्रमदान अभियानलाई निरन्तरता दिइने केन्द्रीय सदस्य बुढाक्षेत्रीले जानकारी दिनुभयो। मासिक एक दिन श्रमदान अभियान चलाउने योजनालाई जिल्लाका नौवटै स्थानीय तहमा कार्यान्वयन हुने र क्रमशः अभियानको कार्यान्वयन सुरु भएको पनि उहाँको भनाइ छ।